सि.टा.समाचारदाता
सिमकोट । सदरमुकाम समेत रहेको सिमकोट बजारमा जथाभावी फोहोर फाले गाउँपालिकाले कारवाही गर्ने भएको छ । ट्याक्टरले ओसार्ने फोहोरलाई बजार क्षेत्रमा जथाभावी फाल्दा निक्कै दुर्गन्धित भएको कारण गाउँपालिकाले यो जुक्ति अपनाएको हो ।
अब रहेक शुक्रबार बिहान मात्र आआफ्नो घरको फोहोर उठाएर मुल सडकमा ल्याउन बजार र सिमकोट गाउँपालिका– ५ र ६ नम्बर वडा वासीलाई गाउँपालिका उपाध्यक्षले शुशिला रोकाया भामले आग्रह गरिन ।
यो कार्यलाई सहयोग गर्न गाउँपालिकाले जथाभावी फोहोर नफाल्न र शुक्रबार बिहान मात्र फोहोर मुल सडकमा ल्याएर राख्नका लागि शुक्रबार बजार क्षेत्रमा फ्ल्यास पनि टाँस्ने कार्य गरेको छ । यदि यसो नगरि जुन दिन पायो त्यही दिन र जथाभावी फोहोर बजार क्षेत्रमा आएर फाल्ने जो कोहीलाई नियमानुसार कारवाही गर्ने उनले बताईन ।
फोहोर मैला ब्यवस्थापन सम्वन्धि कार्य बिधि समेत गाउँपालिका निर्माण गरेर कार्यान्वयनमा ल्याई सकेको छ । यसरी जथाभावी फोहोर फाल्नेको निगरानी बजार क्षेत्रमा जडान गरिएका सिसिटिभीबाट राखिने छ ।
यो कार्यमा सहयोग गर्न प्रहरीलाई गाउँपालिकाले समन्वय गर्न पत्राचार समेत गर्नेछ । हरेक शुक्रबार बजार क्षेत्रका घरघरबाट जम्मा भएको फोहोर डम्पिङ साईटसम्म ट्याक्टरमा ढुवानी गर्ने ब्यवस्था गाउँपालिकाले गरेको छ ।
















