यातायात सेवा अबरुद्ध भएपछि लाप्चाबाट मानसरोवर कैलाशको दर्शन गर्न समस्या

फोटो क्याप्सन लिमीको ताक्चीमा लिमी कर्णाली नदीमा बिच्छ्याईएका ह्यूमपाईप । हाल ती ह्यूम पाईत भन्दा माथि नदीको पानी बगेपछि यातायात सेवा अबरुद्ध भएको छ । तस्बिर : सि.टा

सि.टा. समाचारदाता
सिमकोट ।       नाम्खा गाउँपालिका– ६ को हिमालपारीको गाउँ लिमीको ताक्चीमा लिमी कर्णालीको पानीको बहाब बढेपछि यातायात सेवा अबरुद्ध हुँदा लाप्चा पुगेर मानसरोवर कैलाशको दुरदर्शन गर्ने पर्यटकहरु ताक्ची मै रोकिनु परेको छ । ताक्चीको लिमी कर्णाली नदीमा बिच्छ्याईएका ह्यूम पाईपको सतह भन्दा पानीको बहाब माथि आएपछि यातायात सेवा अबरुद्ध हुँदा मानसरोवर कैलाशको दुरदर्शन गर्ने कार्यमा असर परेको हो ।

सिमकोटबाट लिमी र लाप्चातर्फ जाने यातायातका साधनहरु ताक्ची मै रोकिनु परेको यात्रु अभिनास लामाले बताए । उनका अनुसार ताक्चीको लिमी कर्णालीमा बिच्छ्याईएका ह्यूमपाईको सतह भन्दा नदीको पानी निक्कै माथि आएपछि यातायात सेवा अबरुद्ध भएको हो ।

वर्षा भएपछि नदीमा पानीको बहाब बढ्दा तीन दिनदेखि यातायात सेवा अबरुद्ध भएको हो । यसले आन्तरिक तथा बाह्य पर्यटकहरुलाई मानसरोवर कैलाशको दुरदर्शनका लागि लाप्चा जानका लागि अवरोध सृजना गरेको छ ।

यतिबेला जो कोही लिमी लाप्चा जाने तयारी भए ताक्चीको अवस्था बुझेर मात्र जानका लागि सवै जानकारी लिनु उपयुक्त देखिन्छ । ताक्चीको नदीमा दुई स्थानमा ह्यूम पाईप बिच्छाएर यातायातका साधनहरु वारपार गर्ने ब्यवस्था गरिएको छ ।

हाल ती दुवै स्थानमा पानीको बहाब बढेर नदीमा बिच्छ्याईएका ह्यूम पाईप भन्दा माथि आएपछि यातायात सेवा अबरुद्ध रहेको नाम्खा गाउँपालिका– ६ का वडा अध्यक्ष पाल्जोर तामाङले बताए । यातायात सेवा अबरुद्ध भएपछि लाप्चा पुग्नु पर्ने पर्यटकहरु ताक्ची रोकिनु पर्ने अवस्था रहेको छ ।

पैदल यात्रुहरुलाई नदी छवारपार गर्ने जोलुङ्गे पुल भएपनि ताक्चीबाट लाप्चा पैदल पुग्न सकिने अवस्था रहेको छैन । तत्कालका लागि ताक्चीको लिमी कर्णाली नदीमा यातायातका साधन वारपार गराउने बिकल्प पनि केही नभए बताउदै उनले अब पानीको बहाब नघटेसम्म यातायात सेवा अबरुद्ध भई रहने बताए ।

यसबाट पाँच वटा लाप्चा पुग्ने पर्यटकहरु ताक्चीबाटै फिर्ता हुनु परेको छ । हरेक वर्ष बर्खामा उक्त नदीमा पानीको बढेर यातायात सेवा बन्द हुने गरेपछि गत मंङ्सीरमा उक्त नदीमा ती ह्यूम पाईपहरु बिच्छ्याईएका थिए । सधै यातायात सेवा सुचारु गर्नका लागि नयाँ उपाय अपनाईएको भएपनि त्यसले पनि काम गर्न नसकेको पर्यटकहरुको गुनासो रहेको छ ।