चौथो पटक म्याद थपका लागि रविलाई अदालत पुर्याइयो

सि.टा समचारदाता
राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई हिरासतमा राखेर अनुसन्धान गर्न म्याद थपका लागि अदालतमा उपस्थित गराइएको छ ।

केहिबेरअघि जिल्ला प्रहरी कार्यालय कास्कीले लामिछानेलाई जिल्ला अदालत कास्की ल्याएको हो । उनलाई चौथो पटक म्याद थपका लागि अदालत पेश गरिएको हो ।

सहकारीको रकम हिनामिना प्रकरणमा पक्राउ परेका पूर्वगृहमन्त्री लामिछानेलाई तेस्रो पटक कार्तिक २० गते अदालत पेश गरिएको थियो ।

त्यो दिन प्रहरीले कार्तिक १४ गतेदेखि लागू हुने गरी १० दिन हिरासतमा राखेर अनुसन्धान गर्ने प्रहरीले म्याद पाएकोमा उक्त म्याद आज सकिएको हो। 

रविलाई कात्तिक २ गते काठमाडौँको वनस्थलीस्थित राष्ट्रिय स्वतन्त्र पार्टीको कार्यालयबाट पक्राउ गरिएको थियो। भोलिपल्ट बिहानपख उनलाई सडकमार्ग हुँदै पोखरा ल्याइपुर्याइएको हो।

कात्तिक ४ गते जिल्ला अदालत कास्की पेश गरिएकोमा पूर्वगृहमन्त्रीसमेत रहेका लामिछानेलाई सुरुमा ६ दिन हिरासतमा राख्न प्रहरीले अनुमति पाएको थियो।

 

त्यसपछि दोस्रो पटक ७ दिनको म्याद थपिएकोमा पछिल्लो पटक १० दिन थपिएको हो । रविसँगै गोरखा मिडिया नेटवर्कमा व्यवसायिक साझेदार बनेका पूर्वडिआईजी छविलाल जोशी, गितेन्द्रबाबु राई (जिबी) सँग मिलेर सूर्यदर्शन सहकारीको तीन करोड बढी अपचलन गर्ने गीता पछाइ र नेचर हर्ब्स इन्टरनेशनलका सञ्चालक रामबहादुर खनाललाई पनि अदालतमा  लगिँदैछ ।