सि.टा. समाचारदाता
सिमकोट । जल तथा मौसम विज्ञान विभाग अन्तर्गतको मौसम पूर्वानुमान महाशाखाका अनुसार सोमबार र मङ्गलबार तीन प्रदेशमा भारी वर्षाको सम्भावना रहेको छ । महाशाखाका अनुसार हाल देशभर मनसुनी वायुको प्रभाव छ । बागमती, गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशको थोरै स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ ।
सोमबार राति कोशी प्रदेशको पहाड र तराई, बागमती र गण्डकी प्रदेशको पहाडी भूभागका एक, दुई स्थानमा भारी वर्षाको सम्भावना छ । मधेस तथा कोशी प्रदेशको तराईको केही स्थानमा हावाहुरीको पनि सम्भावना रहेको महाशाखाले जनाएको छ ।
मङ्गलबार पनि कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशको पहाडी भूभागका एक, दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको तथा मधेस र कोशी प्रदेशको तराईका केही स्थानमा हावाहुरीको सम्भावना छ ।
बुधबार कोशी प्रदेशको हिमाली र पहाडी भूभाग तथा बागमती, गण्डकी र लुम्बिनी प्रदेशको पहाडी र तराई भूभागका एक, दुई स्थानमा भारी वर्षाको सम्भावना छ ।



















