कर्णालीमा ४४ जना उम्मेदवार चुनावी मैदानमा

सि.टा. समाचारदाता
सिमकोट । उपनिर्वाचनमा कर्णालीमा आठ पदका लागि ४४ जनाको उम्मेदवारी परेको छ । जसमध्ये ४१ जना बिभिन्न पार्टी र तीन जना स्वतन्त्र उम्मेदवार चुनावी मैदानमा रहनु भएको हो ।
अध्यक्ष, उपाध्यक्ष र उपप्रमुख पदका लागि २० जनाको उम्मेदवारी परेको छ । यी मध्ये दुई जना स्वतन्त्र उम्मेदवार छन् । दैलेखको महाबु गाउँपालिकाको अध्यक्ष पदका लागि सात जनाको उम्मेदवारी परेको छ । नेपाली कांग्रेस, नेकपा एमाले, नेकपा माओवादी केन्द्र, एकीकृत समाजवादी, राष्ट्रिय स्वतन्त्र पार्टी, राष्ट्रिय प्रजातन्त्र पार्टी र नेपाल मजदुर किसान पार्टीबाट उम्मेदवारहरु मैदानमा उभिएका छन् । उपनिर्वाचनका लागि कर्णाली प्रदेशमा दलहरू एक्लाएक्लै चुनावी अभियानमा होमिएका छन् । कर्णाली प्रदेशमा एक गाउँपालिका अध्यक्ष, एक उपाध्यक्ष, एक नगरपालिकाका उपप्रमुख र पाँच जना वडाध्यक्ष पदका लागि उपनिर्वाचन हुँदैछ। आठै ठाउँमा राजनीतिक दल र स्वतन्त्र उम्मेदवारले उम्मेदवारी दिएका छन् । दैलेखको महाबु गाउँपालिकाको अध्यक्ष, जाजरकोटको नलगाड नगरपालिकाको उपप्रमुख र हुम्लाको सर्केगाड गाउँपालिकाको उपाध्यक्ष पदमा उपनिर्वाचन हुन लागेको छ । कालीकोटको तिलागुफा नगरपालिका–४, डोल्पाको त्रिपुरासुन्दरी नगरपालिका–५, जाजरकोटको कुशे गाउँपालिका–७, दैलेखको दुल्लु नगरपालिका–१३ र रूकुम पश्चिमको सानीभेरी गाउँपालिका–५ मा वडाध्यक्ष पदका लागि उम्मेदवारहरू उपनिर्वाचनको चुनावी मैदानका खडा भएका छन् ।
दैलेखमा महावु गाउँपालिकाको अध्यक्ष पदमा कांग्रेसबाट झलकबहादुर भण्डारी, एमालेबाट जंगबहादुर शाही, माओवादी केन्द्रबाट जंगबहादुर बराल, एकीकृत समाजवादीबाट जगत हमाल, रास्वपाबाट प्रकाश बुढा, राप्रपाबाट सुर्जे रावत र नेमकिपाबाट दुर्गबहादुर मगर उम्मेदवार छन् । एमालेबाट उम्मेदवार बनेका शाही यसअघि २०७४ मा एमालेबाट महाबुको अध्यक्ष बनेका थिए । २०७९ को निर्वाचनमा उनी एकीकृत समाजवादीबाट उम्मेदवार बनेर पराजित भएका थिए । अहिले केही समयअघि मात्र एमालेमा फर्किएर उनी महाबुको अध्यक्षको उम्मेदवार बनेका छन् ।
जाजरकोटको नलगाड नगरपालिकाको उपप्रमुख पदका लागि छ जना चुनावी मैदानमा छन्। नेपाली कांग्रेसबाट इन्द्रा चन्द सिंह, एमालेबाट सुनिता बोहरा, राप्रपा नेपालबाट सुनिता पुन रावल, माओवादी केन्द्रबाट देवका लामिछाने, एकीकृत समाजवादी पार्टीबाट पवित्रा जैसी र रास्वपाबाट पार्वती पुन उम्मेदवार छन्।
हुम्लाको सर्केगाड गाउँपालिकाको उपाध्यक्ष पदका लागि दुई जना स्वतन्त्र उम्मेदवारसहित सात जनाको उम्मेदवार छन् । नेपाली कांग्रेसबाट सबिता बुढा, एमालेबाट जाना शाही, माओवादी केन्द्रबाट देवकी तिमल्सेना, राप्रपाबाट संगिता शाही र रास्वपाबाट बाँचु शाही चुनावी मैदानमा छन् । नरेश शाही स्वतन्त्र उम्मेदवारका रुपमा छन् ।
पाँच जना वडाध्यक्ष पदका लागि २४ जनाको उम्मेदवार छन् । जसमध्ये २३ जना दलबाट र एक जना स्वतन्त्र उम्मेदवार छन् ।
कालिकोटको तिलागुफा नगरपालिका–४ को वडाध्यक्ष पदका लागि ६ जनाले उम्मेदवार छन् । एमालेबाट ऐनबहादुर शाही, नेमकिपाबाट खड्कबहादुर शाही, रास्वपाबाट गगन बम, राप्रपाबाट गोगनबहादुर शाही, माओवादी केन्द्रबाट नैनशोभा शाही र नेपाली कांग्रेसबाट पलबहादुर शाहीे वडाध्यक्ष पदका उम्मेदवार छन् ।
डोल्पाको त्रिपुरासुन्दरी नगरपालिका–५ को वडाध्यक्ष पदका लागि चार जना उम्मेदवार छन् । एमालेबाट नरबहादुर रोकाया, समाजवादीबाट ज्योति घर्ती, माओवादी केन्द्रबाट नरबहादुर झाँक्री र नेपाली कांग्रेसबाट राजेन्द्र प्रसाद न्यौपाने उम्मेदवार छन् ।
दैलेखको दुल्लु नगरपालिका–१३ मा वडाध्यक्ष पदका लागि ६ जना उम्मेदवार छन्। एमालेबाट लालबहादुर शाही, कांग्रेसबाट शेरबहादुर शाही, माओवादीबाट ढकेन्द्र शाही, राप्रपाबाट रेशम शाही, रास्वपाबाट रामबहादुर शाही र नेमकिपाबाट पूणर्प्रसाद उपाध्याय उम्मेदवार छन् ।
जाजरकोटको कुशे गाउँपालिका– ७ को अध्यक्ष पदका लागि पाँच जनाले उम्मेदवार छन् । एमालेबाट डम्बरबहादुर घर्ती, नेपाली कांग्रेसबाट खम्बबहादुर सिंह, माओवादी केन्द्रबाट गोरखबहादुर नेपाली, राष्ट्रिय प्रजातन्त्र पार्टीबाट लालबहादुर खत्री र स्वतन्त्र पार्टीबाट कमान सार्की उम्मेदवार छन्।
त्यस्तै रूकुम पश्चिमको सानीभेरी गाउँपालिका– ५ को अध्यक्ष पदका लागि चार जना उम्मेदवार छन् । माओवादी केन्द्रबाट जसीराम बस्नेत, नेपाली कांग्रेसबाट मोतीराम खत्री, एमालेबाट हंशराज पुरी र स्वतन्त्र रुपमा वीरबहादुर बस्नेत उम्मेदवार छन् । उपनिर्वाचन हुन लागेका ठाउँमा कांग्रेस आफ्नो बिरासत जोगाउनेगरी मेहनत गरिरहेको छ भने एमाले र माओवादी त्यसलाई तोड्ने रणनीतिमा छन् ।