हुम्ला काँग्रेसले शुक्रबार जिल्लाभर दिपावली गर्ने

नेपाली काँग्रेस हुम्लाको पार्टी कार्यालय भवन । तस्बिर ः सि.टा.

सि.टा. समाचारदाता
सिमकोट । नेपाली काँग्रेस हुम्लाले शुक्रबार जिल्लाभर दिपावली गर्ने भएको छ । कर्णाली प्रदेशका पुर्वमुख्यमन्त्री एवं नेपाली काँग्रेसका नेता जीवन बहादुर शाहीलाई बिहीबार बिशेष अदालत सफाई दिएपछि त्यसैको खुसीयाली स्वरुप दिपालवी गर्न लागिएको हो ।
नेपाली काँग्रेस हुम्ला, प्रदेश, गाउँ र वडा कार्य समितिको आयोजनामा शुक्रबार बेलुका पाँच बजे दिपावली गर्ने कार्यक्रम रहेको काँग्रेस उपसभापति बसन्त रोकायाले जानकारी दिए ।

नेता शाहीले पाएको सफाईको खुसीयालीमा दिपावली गर्ने कार्य गर्न लागिएको उनले बताए । पार्टीका सवै संरचनामा दिपावली गर्ने कार्य हुनेछ । कर्णाली प्रदेश सभाका सदस्य शाही बिरुद्ध परेको मुद्धा माथि बिशेष अदालतले अन्तिम सुनुवाई गर्दै उनलाई सफाई दिएको थियो ।

काँग्रेस केन्द्रीय कार्य सम्पादन समितिका सदस्य समेत रहेका शाहीलाई वाईडबडी जहाज खरिद कार्यमा अनियमिततामा संलग्न रहेको भन्दै बिशेष अदालतमा मुद्ध दर्ता गरेको र सो मुद्धाको अन्तिम सुनुवाई गर्दै बिशेष अदालतले शाहीलाई दोषी ठहर गर्ने कुनै प्रमाण नभएकोले सफाई दिएको थियो ।

गत फागुनमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले शाही लगाएत ३२ जना बिरुद्ध मुद्धा दर्ता गरेको थियो । बिशेषमा मुद्धा परेपद्धि शाही प्रदेश सभा सदस्यबाट निलम्बित भएका थिए । अब बिशेष अदालतबाट सफाई पाएसंगै उनको प्रदेश सभा सदस्य पद समेत स्वतः कायम भएको छ ।