हिमाल पारीको गाउँ लिमी आउजाउ बन्द

फोटो क्याप्सन आउजाउ बन्द भएको लिमीको हल्जी गाउँ । तस्बिर ः सि.टा

सि.टा. समाचारदाता
सिमकोट । नाम्खा गाउँपालिका– ६ को हिमालपारीको गाउँ लिमी आउजाउ बन्द भएको छ । पछिल्लो पटक भएको हिमपातले लिमी जाने दुई वटा नाकाहरु नारा र न्यालु लेकको सडक हिमपातले बन्द हुँदा लिमी प्राकृतिक बन्दाबन्दीमा परेको हो ।

लिमीका वडा अध्यक्ष पाल्जोर तामाङले लिमी प्राकृतिक बन्दाबन्दीमा परेको बताए । उनले पछिल्लो हिमपातसंगै लिमी प्रबेशका लागि चार हजार छ सय मिटर अग्लो नारा र पाँच हजार मिटर अग्लो न्यालु लेकको सडक हिमपातको कारण यातायात सेवा अबरुद्ध भएपछि लिमी आउजाउ बन्द भएको बताए । अब लिमी बाहिरबाट जान र लिमीबाट स्थानीय बाहिर आउन सकिने अबस्था रहेको छैन ।

वडा अध्यक्ष तामाङ सदरमुकाम सिमकोट आउने तयारीमा रहेको भएपनि लिमी मै रोकिएका छन् । उनले दुवै लेकमा दुई देखि तीन फिट हिउ जमेको कारण लिमी जान नसकिने अबस्था रहेको बताए । हिमपात थपिदै गए आगामी बैशाख महिनासम्म पनि लिमी जान नसकिने अवस्था रहेको छ ।

दुवै तिरको सडकमा जमेको हिउ मेशिनबाट पन्छाउने कार्य भए मात्र सडक सचारु हुने अवस्था रहेको छ । यतिबेला लिमीमा कोही बिरामी भए हेलिकोप्टर रिजर्भ गरेर बिरामीको उद्धार गर्नुपर्ने बाध्यता रहनेछ ।