आज ओपिडी बाहेक अस्पतालका अरु सेवा बन्द हुने

सि.टा. समाचारदाता
सिमकोट । नेपाल चिकित्सक संघले स्वास्थ्य संस्थाका आकस्मिकबाहेकका सेवा बन्द गर्ने घोषणा गरेको छ । संघका अध्यक्ष डा. बर्दी रिजाल र महासचिव डा. विश्वराज दवाडीले जारी गरेको विज्ञप्तिमा चिकित्सकमाथि बढ्दो हिंसा र असुरक्षाको विरोधस्वरूप साउन १२ गते (मङ्गलबार) देशभरका अस्पतालमा आकस्मिकबाहेकका सेवा बन्द गर्ने उल्लेख गरिएको छ ।

संघले आन्दोलनमा सम्पूर्ण चिकित्सक, स्वास्थ्यकर्मी, बुद्धिजीवी, सञ्चारकर्मी तथा आम नागरिकलाई साथ र समर्थन गर्न आग्रह गरेको छ । आन्दोलनका थप कार्यक्रम क्रमशः सार्वजनिक गरिने संघले जनाएको छ ।

वीरगन्जस्थित नारायणी अस्पतालमा कार्यरत चिकित्सक तथा स्वास्थ्यकर्मीमाथि भएको सांघातिक आक्रमण र अस्पतालमा गरिएको तोडफोडको घटनाप्रति गम्भीर ध्यानाकर्षण भएको संघले जनाएको छ । संघले जारी गरेको विज्ञप्तिमा घटनामा संलग्न व्यक्तिमाथि प्रचलित कानुनबमोजिम कडा कारबाही गर्न सरकारसँग माग गरिएको छ ।

साथै, घटनास्थलमा उपस्थित सुरक्षा निकाय तथा जिम्मेवार निकायले आफ्नो दायित्व प्रभावकारी रूपमा निर्वाह गर्न नसकेको भन्दै त्यसको निष्पक्ष छानबिन गरी आवश्यक कारबाही गर्न पनि आग्रह गरिएको छ ।

विज्ञप्तिअनुसार आक्रमणका क्रममा चिकित्सक डा. प्रमोद रामसहित अन्य चिकित्सक तथा स्वास्थ्यकर्मी घाइते भएका छन् ।

संघले स्वास्थ्यकर्मी तथा स्वास्थ्य संस्थाको सुरक्षा सम्बन्धी ऐन, २०६६ (पहिलो संशोधन, २०७९) बमोजिम दोषीलाई कडा कारबाही गर्न माग गरेको छ ।

विज्ञप्तिमा स्वास्थ्य सेवामा कार्यरत जनशक्तिको सुरक्षा सुनिश्चित गर्न सरकारले प्रभावकारी कदम चाल्नुपर्नेमा पनि जोड दिइएको छ ।