लोग भण्डारी
सिमकोट । नाम्खा गाउँपालिका– ६ को हिमालपारीको लिमीको जाङ गाउँ यस वर्षबाट मानिस बिहीन बनेको छ । यसअघि वर्खामा बस्दै आउनु भएका दुई परिवारका सदस्यहरुले पनि यस पटक गाउँ छोडेर काठमाडौं हिडेपछि जाङ गाउँ मानिस बिहीन भएको हो ।
लिमीको हल्जी गाउँका स्थानीय कुन्जोक तामाङ कातिक महिनासम्म गाउँमा बस्दै आएका दुई घरधुरीका स्थानीयले मङ्सीर महिनामा हल्जी गाउँ छोडेर काठमाडौं हिडेपछि सिङ्गो गाउँ मानिस बिहीन भएको बताए । हल्जी गाउँमा मानिस नभएपछि सुनासन देखिन थालेको छ ।
गतवर्ष हिउदभर दुई घरधुरीका मानिस बस्दा काठमाडौंमा बस्नु भएका उनका आफन्तले ती घरधुरीका स्थानीयलाई गाउँ छोड्न दबाद दिदै आएका थिए ।
सेवा सुबिधाका हिसावले पनि जाङ गाउँका बासिन्दाले गाउँ छोडेको बताउदै उनले यसका लागि अब स्थानीय देखि सङ्घीय सरकारले सोच्ने बेला आएको उनले बताए । गाउँ छोड्ने स्थानीयले महंङ्गा सामानहरु आफुसंगै काठमाडौं लगि सक्नु भएको छ ।
लिमीका वडा अध्यक्ष पाल्जोर तामाङले ६३ घरधुरी रहेको जाङ गाउँ हाल मानव बिहीन अबस्थामा रहेको बताउनुभयो । गाउँका सबै घरमा ताला लागेको र घोडा मात्र गाउँको छेउछाउमा चर्दै गरेको दृश्य देखिदा खल्लो महशुस भएको बताउदै उनले गुम्बा समेत सुनसान देखिएको बताए ।
चल अचल सम्पति घरमा थन्क्याएर ढोकामा ताला लगाएर जाङ गाउँका स्थानीय काठमाडौं लागेको कारण भोली गाउँको अस्तित्व समेत हराउने चिन्ता थपिएको उनले बताए । पछिल्लो पुस्ता गाउँमा फर्कनै नचाहाने भएको कारण पनि अघिल्लो पुस्ताका स्थानीयहरु बाध्य भएर गाउँ छाड्ने अवस्था आएको उनको भनाई छ ।
कुनै समय च्याङ्ग्रा र चौरी पालनका लागि कहलिएको लिमीको जाङ गाउँ हाल आएर मानव बिहीन अबस्थामा पुग्नु दुखद पक्ष हो । गाउँ छोड्न नहुँने सुझाव वडाले दिदा स्थानीयले नमानेको कारण अब राज्यको ध्यान स्थानीयलाई गाउँ फर्कने अभियान सञ्चालनमा जान आवश्यक रहेको सुझाव उनको छ ।
अन्न ( उवा ) उत्पादनका हिसावले पनि जाङ गाउँ राम्रो मानिने भएपनि गतवर्षबाट खेती योग्य जमिन बाँझो रहँदै आएको छ । एक वर्ष अगाडीबाट गाउँमा बालबालिका नभएपछि विद्यालयलाई बन्द गरेर त्यहाँ कार्यरत शिक्षकलाई अन्यत्र ब्यवस्था गरिएको थियो ।












