
सि.टा. समाचारदाता
सिमकोट । कर्णाली प्रदेश सभा अन्तरगत् रहेका विषयगत समितिहरु मध्ये तीन वटा समितिका सभापतिहरुले बिहीबार एक कार्यक्रमकाबिच प्रदेश प्रमुख समक्ष पद तथा गोपनीयताको सफथ लिएका छन् । यसअघि तीनै समितिका सभापति निर्विरोध चयन भएका थिए ।
नवनिर्वाचित संसदीय समतिका सभापतिहरुले बिहीबार पद तथा गोपनियताको शपथ लिएका छन् । पद तथा गोपनियताको सफथ लिने समितिका सभापतिहरुका सामाजिक विकास समिति सभापतिमा निर्वाचित पूर्णबहादुर खत्री, सार्वजनिक लेखा समितिको सभापतिमा निर्वाचित विन्दमान विष्ट र अर्थ तथा प्राकृतिक स्रोत समिति सभापतिमा निर्वाचित दक्षिणा शाही रहेकी छन् ।
यसवाट दश महिनादेखि नेतृत्व विहीन रहेका कर्णालीका संसदीय समितिले बल्ल नेतृत्व पाएका छन् । गत वैशाखयता विभिन्न समयमा रिक्त रहेका तीन वटा संसदीय समितिले पूर्णता पाएका हुन् । सभापति तीन ठुला दलहरुले पाएका छन् । काँग्रेसबाट खत्री, माओवादी केन्द्रबाट बिष्ट र एमालेबाट शाही समितिको सभापतिमा चयन भएका थिए ।
उनीहरुलाई कार्यबहाक सभामुख यसोदाकुमारी न्यापानेले शपथ गराएकी हुन् । यसअघि लेखा समितिको सभापति रहेका ऐमालेका जितबहादुर मल्लले १५ असोजमा राजीनामा दिएका थिए । यस्तै, अर्थ तथा प्राकृतिक स्रोत समितिका सभापति रहेका दुर्गबहादुर रावत १८ वैशाख २०८१ मा उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्री बनेपछि समिति सभापतिविहीन बनेको थियो ।
सामाजिक विकास समितिका सभापति रहेका घनश्याम भण्डारी २० साउन २०८१ मा सामाजिक विकासमन्त्री बनेपछि उक्त समिति पनि सभापतिविहीन थियो । चारमध्ये प्रदेश मामिला समितिको सभापतिमा भने एकीकृत समाजवादीका सांसद कल्याणी खड्का छन् ।
लामो समयसम्म संसदीय समिति रिक्त हुँदा सरकारका कामकारबाहीको निगरानीदेखि संसदीय समितिमा गएका विधेयक उपर छलफल अघि बढ्न सकेको थिएन । कार्यक्रममा मुख्यमन्त्री यामलाल कँडेल, पुर्बमुख्यमन्त्री जीवनबहादुर शाही र राजकुमार शर्माको उपस्थिती रहेको थियो ।















