सि.टा. समाचारदाता
सिमकोट । कर्णाली करिडोर अन्र्तगत हुम्ला जिल्लाको खार्पुनाथ गाउँपालिका– ५ को खार्पुको दोजाम कर्णाली नदी माथि रोकिएको पक्की पुलको निर्माण कार्य सुरु भएको छ । सो पुलको फाउण्डेनस खनेर पिलर ढलान गर्ने क्रममा तातो पानी निस्कनु र नदीको पानी पसेपछि रोकिएको काममा त्यसको डिजाईनमा परिवर्तन गरिएपछि निर्माण कार्य सुरु भएको छ ।

करिब एक वर्ष काम रोकिएको कर्णाली करिडोरको खार्पुको पक्की पुलको निर्माण कार्य सुरु भएको हिल्सा सिमकोट सडक आयोजनाका योजना प्रमुख बेलबहादुर नेपालीले जानकारी दिए । पुलको पुर्वपट्टीको फिलरका लागि फाउण्डेसन खनेर पिलरमा ढलान गर्ने क्रममा पहिले तातो पानी निस्केको र पछि नदीको पानीको बहाव निर्माण स्थलमा पसेपछि काम रोकिएको थियो ।
पुलको दुवैतर्फका पिलरहरु यसअघि एम २० र एम २५ अनुपात रहेकोमा हाल त्यसलाई परिमार्जन गरेर एम ३० को अनुपातमा परिवर्तन गरिए पछि काम सुरु भएको हो । अब यो अनुपातको सिमेन्ट, वालुवा, गिट्टी र केमिकल मिसाएमा पिलरमा पानीले असर गर्न नसक्ने गरि अनुपात मिलाएको कारण पिलर बलियो हुने उनको भनाई छ ।
२०८२ को साउन महिनामा सम्पन्न गर्ने गरि पुल निर्माणको जिम्मा पाएका निर्माण कम्पनीलाई म्याद थप सडक बिभागले गरेको छ । यसका लागि आयोजनाले स्वच्छन्दा माउण्ट पुमोरी जेभी चितवनसंग २०७८ साउन १४ सम्झौता गरेको थियो । ५५ मिटर मिटर लम्बाई रहेको सो पुल निर्माणका लागि ११ करोड ८३ लाख ९४ हजारमा आयोजनाले निर्माण कम्पनीसंग सम्झौता गरेको थियो ।
उक्त पुलका लागि चालु आर्थिक वर्षमा २० लाख बजेट विनियोजित भएकोमा सो बजेट यसअघि गरेको कामको रकम भुक्तानी भई सकेको कारण हाल सुन्ने बजेटमा काम अगाडी बढी रहेको उहाँले बताउनुभयो ।
हाललाई पुल निर्माण कार्यका लागि सुन्ने बजेट भएपनि बिभागबाट काम भएमा बजेटको ब्यवस्था जसरी पनि गरिने प्रतिबद्धता आएकोले बजेट अभाव कै कारण काममा कुनै बाधा नपुग्ने बिस्वास उहाँले ब्यक्त गर्नुभयो ।
निर्माण कम्पनीले आगामी असार मसान्तसम्म काम सम्पन्न गर्ने गरि कामलाई तिब्रता दिईएको जनाएको छ पुन निर्माण कार्य निर्धिारित मिति मै सम्पन्न गर्नका लागि पुलको दुवैतिर काम भई रहेको छ ।












