लोग भण्डारी
सिमकोट । नेपालगंज र सुर्खेतबाट पैदल मार्गबाट ढुवानी हुने सामानको ढुवानी दर जिल्ला दररेट भन्दा सस्तो भएको छ । पैदल मार्गबाट आउने माल बहाब ट्रकहरु खार्पुनाथ गाउँपालिका– ५ को खार्पुको दोजाम कर्णाली नदी तरेर सदरमुकाम सिमकोटसम्म आउन थालेपछि ढुवानी दर घटेको हो । पछिल्लो समयमा नेपालगंज र सुर्खेतबाट पैदल मार्गबाट ढुवानी भएर आउने सामानमा ढुवानी दर जिल्ला दररेट भन्दा सस्तो भएको छ ।
नेपालगंजबाट प्रतिकेजी अठार रुपियाँ र सुर्खेतबाट प्रतिकेजी चौधदेखि पन्द्र रुपियाँ पर्ने गर्छ । गत असार अन्तिम साता बसेको जिल्ला दररेट निर्धारण समितिले यसरी पैदल मार्गबाट ढुवानी भएर आउने सामाग्रीको ढुवानी दर प्रतिकेजी २९ रुपियाँ निर्धारण गरेको छ । यो ढुवानी दर जिल्ला दररेट हो । जिल्ला दररेट भन्दा प्रतिकेजी एघार रुपियाँ सस्तोमा हाल सामानहरु ढुवानी भई रहेको छ ।
यो ढुवानीदर सदरमुकाम सिमकोटसम्मको हो । सदरमुकाम सिमकोटबाट जति दक्षिणी लाग्यो त्यति नै ढुवानी सस्तो हुने गरेको छ । सामानको ढवानी दर सस्तो भएपछि ब्यापारीहरु निर्माण सामाग्री र दैनिक उपभोग्य सामानहरु ढुवानी गर्ने कार्यलाई तिब्रता पारिएको छ ।
दोजाम कर्णालीको पानी कम भएको कारण सामान लोड गरिएको मालवहाक सवारी साधन सिधै नदी तरेर आउने भएको कारण ढुवानी सस्तो भएको हो । जिल्ला दर रेट भन्दा ढुवानी सस्तो पर्ने भएको कारण निर्धारित जिल्ला दररेट माथि नै पूनरः बिचार गर्नु पर्ने देखिएको छ ।
दोजाम कर्णालीमा पानीको बहाव बढी हुँदा नदी पारीसम्म मात्र सामान ढुवानी भएर आउने र सो सामान भरिया लगाएर झोलुङ्गेबाट ढुवानी गर्ने दर प्रतिकेजी दुई रुपियाँ, लोड अनलोडको पनि भाडा नलाग्ने भएको कारण पनि ढुवानी सस्ता भएको हो । यद्यपि यो सिजनल रुपमा मात्र हुनेछ ।
















