लोग भण्डारी
सिमकोट । यस वर्ष हिमाली जिल्ला हुम्लामा मह उत्पादन बृद्धि भएको छ । फुल फुल्ने समयमा असिना पानी नपर्नु र बेला बेला पानी परेको कारण मौरीका लागि आवश्यक आहारको ब्यवस्था हुँदा मह उत्पादनमा बृद्धि भएको हो ।
सिमकोट गाउँपालिका– २ का मुनबिर भण्डारीले यस वर्ष मह उत्पादन राम्रो भएको बताए । पाँच घार भएका भण्डारीले यसवर्ष १२५ केजी मह उत्पादन गर्न सफल भएको बताए । उनले गतवर्ष भन्दा राम्रो मह उत्पादन भएको बताउदै आम्दानी पनि राम्रो भएको बताए । मह उत्पादन बढी मात्र नभएर गुणस्तरीय मह पनि उत्पादन भएको छ । उनले सवै मह बिक्री गर्नु भएको छ ।
मह धेरै उत्पादन हुने नाम्खा गाउँपालिका पनि पर्छ । सो गाउँपालिका– १ का कुन्छाङ लामाले अघिल्लो वर्षको तुलनामा मह राम्रो उत्पादन भएको बताउदै यसबाट किसानहरुका आम्दानी समेत बृद्धि भएको बताए । उनका तीस वटा घार रहेका छन् । त्यसबाट छ क्वीन्टल मह उत्पादन उनले गरेका थिए । उत्पादित मह मध्य साँढे चाार क्वीन्टल हम उनले सदरमुकाम सिमकोटमा बिक्री गरेका छन् ।
अर्को मह राम्रो उत्पादन हुने सिमकोट गाउँपालिका– १ को दोजाम गाउँकी स्यामजोर लामा अघिल्ला वर्ष भन्दा गुणस्तरीय मह उत्पादन भएको बताउदै आम्दानीमा पनि बृद्धि भएको बताए । उनका चौतीस वटा घार रहेका छन् ।
त्यसबाट नौ क्वीन्टल अठार केजी मह उत्पादन भएको थियो । त्यो मध्य सात क्वीन्टल मह बिक्री भई सकेको उहाँले बताउनुभयो ।
त्यसैगरि स्थानीय मह ब्यापारी गोर्ख बोहराले जिल्लाभर यसवर्ष मह उत्पादन राम्रो भएको बताए । सात वटै गाउँपालिकामा मह उत्पादन हुने गर्छ । हुम्ला जिल्लाभर एक हजार ७१५ वटा घार रहेको बताउदै उनले यसबाट चौतीस हजार तीन सय केजी मह उत्पादन भएको बताए ।
हुम्लामा महको मुल्य प्रति केजी एक हजार आठ सय रुपियाँ पर्ने गर्छ । यसवर्ष जिल्लाभार उत्पादन भएको मह छ करोड १७ लाख चालीस हजार मुल्य रहेको छ ।
गत वर्ष २५ हजार केजी मह जिल्लाभर उत्पादन भएको थियो । आम्दानी हुने भएपछि पहिले दुई तीन वटा घार मौरी पाल्ने स्थानीय अहिले ब्यवसायीक रुपमा मौरी पालनमा लाग्न थाल्नु भएको छ । उद्योग बाणिज्य सङ्घका अध्यक्ष रामबहादुर भण्डारीले मह राम्रो उत्पादन भएको कारण जिल्ला बाहिर निकासी गर्ने क्रम पनि बढेको बताए ।
मौरी पालनका लागि सवै कुरा मिलेको कारण मह उत्पादन बृद्धि भएको र मह उत्पादनबाट पनि किसानले आम्दानी गर्न थालिएको छ । चार सय घार मात्र आफ्नो गाउँपालिकामा रहेका छन् ।
























