हुम्लामा गाडी भाडा प्रति किलोमिटर साँढे सैतीस रुपियाँ

फोटो क्याप्सन हुम्लाबाट बाजुरा हुँदै सुर्खेतको यात्रा गर्ने क्रममा यात्रहरु । तस्बीरः सि.टा

सि.टा. समाचारदाता
सिमकोट । भरखर सडक सञ्जाल जोडिदै गरेको हिमाली जिल्ला हुम्लामा अव यात्रुहरुले प्रति किलो मिटर यात्रा गर्दा गाडी भाडा साँढे सैतीस रुपियाँ तिर्नु पर्ने छ । यस अघि लिने गरिएको भाडालाई घटाएर सो लिनु पर्ने निष्कर्षमा स्थानीय प्रशासन, यातायात ब्यवसायी र राजनीति दलहरु यो निष्कर्षमा पुगेका हुन ।

राजमार्ग सुचारु समन्वय समितिको बैठकमा सहभागी राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष बिकास महतले नियमसंगत नभएपनि यसअघि यात्रुहरुले गाडीमा यात्रा गर्दा तिर्दै आएको भाडा भने घटेको जानकारी दिए । यसबाट अब जिल्ला भित्र जुन सुकै स्थानमा गाडीमा यात्रा गर्दा एक्कै किसिमको भाडा तिर्नु पर्ने सहमतिमा यातायात ब्यवसायी, स्थानीय प्रशासन, राजनीति दल र नागरिक समाज पुगेको छ ।

सबैको मौखिक सहमति अनुसार अव यात्रुहरुले गाडीमा यात्रा गर्दा प्रति किलोमिटर साँढै सैतीस रुपियाँ भाडा दिर्नु पर्ने भएको छ । बाह्र किलो मिटर रहेको सिमकोट खार्पुका गाडी भाडा यसअघि सात सय रुपियाँ तिर्दै आएकोमा अब नयाँ सहमति अनुसार सो खण्डमा यात्रा गर्दा साढे चार सय रुपियाँ तिर्नु पर्ने तिर्नु पर्नेछ । इन्धनको मुल्य घटेकै कारण गाडी भाडा घटाउनका लागि यातायात ब्यवसायी सहमत देखिएका हुन ।

प्रमुख जिल्ला अधिकारी नारायण पाण्डेले सडक कच्ची, यातायातका साधनले बढी क्षेती ब्यहोर्नु पर्ने भएको कारण मौखिक सहमति यातायात ब्यवसायीहरु भाडा घटाएर यात्रु बोक्न तयार रहेको बताए । भरखर भरखर यातायातका साधनहरु सञ्चालनमा आई रहेको कारण नियमसंगत रुपमा सञ्चालनमा ल्याउन समय लाग्ने भएपनि अहिले गरिएको प्रयास पनि नियम कार्यान्वयन गर्न सहयोगी हुनेछ ।

अहिलेको सहमति कार्यान्वयन गर्नुमा यात्रुहरुको पनि उत्तिक्कै सहयोगी भूमिका रहेकोले त्यसतर्फ ध्यान दिन र आवश्यक परे प्रहरी र स्थानीय प्रशासनलाई जानकारी गराउन उनले आग्रह गरे । अब सदरमुकाम सिमकोटबाट दक्षिणी क्षेत्रको बाजुरा र हुम्लाको सिमाना कवाडीसम्म ९३ किलो मिटरको गाडी भाडा तीन हजार ४८७ दशमलव पाँच रुपियाँ र उत्तरतर्फको सदरमुकाम सिमकोटबाट हिल्सासम्मको ९५ किलोमिटर दुरीको गाडी भाडा तीन हजार ५६२ दशमलव पाँच रुपियाँ लाग्ने छ ।

घटेको भाडा कार्यान्वयनमा सवै पक्ष इमान्दारीका साथ लाग्नु पर्ने पत्रकार महासंघका सचिव नन्द सिंहले बताए । पछिल्लो सहमति कार्यान्वयन भए नभएको जिल्लाका तीन स्थानमा रहँदै आएको ट्राफिक प्रहरीले अनुमगन गरेर कार्यान्वयन गरिनेछ ।