
सि.टा. समाचारदाता
सिमकोट । हुम्ला जिल्ला अन्र्तगत बग्दै जाने कर्णाली नदीमा पानीको मात्रा घट्दै गएको छ । यसवर्ष हिउदमा हिउ निक्कै कम परेको कारण कर्णाली नदीमा पानी घट्दै गएको हो ।
सिमकोट गाउँपालिकाका सवइन्जिनीयर दानबहादुर रावलले बिगतका वर्षहरुमा भन्दा यसवर्ष कर्णाली नदीमा पानीको मात्रा निक्कै घटेको बताए ।
उनले माथिल्लो हुम्ला बिशेष गरि सिमकोट नाम्खा गाउँपालिकाको भुभागमा बग्ने नदीमा पानीको मात्रा निक्कै घटेको बताउदै कति घट्यो भने नाप्न भने नसकिएको उल्लेख गरे । नदीमा पानी सुकेको कारण आकार स्यानो देखिन थालेको र नदीले चौढा रुप लिएको स्थानमा मानिसहरु सिधै तर्न सक्ने अवस्था रहेको छ ।
हाल नदीमा पानी वर्खाको मात्रा आधा भन्दा पनि बढी पानी घटेको कारण चिन्ताको विषय भएको छ । नेपालको भुकागमा बग्ने कर्णाली नदीमा पानी केही भएपनि चीनमा वग्ने नदी त सानो खोलामा परिणत भएको उनको भनाई छ ।
मौसममा आएको परिवर्तनको कारण तापक्रम बृद्धि हुँदा हिमालमा हिउ नै पर्न छोडेपछि नदीम पानी घट्नु स्वभाविक होे । सेताम्मे देखिनु पर्ने हिमाल काला पत्थर देखिन थालेपछि पानीको श्रोत नभएकै कारण नदीमा पानी घट्नुको मुख्य कारण रहेको उहाँले बताउनुभयो ।
मौसम परिवर्तनको कारण हिमालमा हिउ नपर्नु नेपालको कारण नभएर औधोगिक मुलुकको कारण समस्या नेपाल जस्ता देशले भोग्नु परि रहेको छ । बास्तवमा यतिबेला हिमाल मात्र नभएर सदरमुकाम सिमकोट समेत हिउले सेताम्मे देखिनु पर्नेमा माघ मै पानी पर्न थालेको कारण चिन्ताको विषय थपिएको छ ।
अब यस क्षेत्रमा काम गर्ने निकायहरु बाताबरण जोगाउने उपायको खोजी लाग्नु पर्ने यस क्षेत्रका बिज्ञहरु बताउन थालेका छन् ।























