सि.टा समचारदाता
सिमकोट बिमानस्थलको नयाँ निर्माण गरिएको एप्रोन ( ट्याक्सी वे ) भाँसिएको छ । एप्रोनका लागि पुरिएको माटोमा गतिलो किसिमले रोलर नलाए कै कारण माटो तल झर्दा कालो पत्र गरेको एप्रोनको भाग भाँसिएको हो ।
हवाई जहाज पार्किङ गर्नका लागि नयाँ निर्माण गरिएको एप्रोन हस्तान्तरण नहुँदै भाँसिएकोे नागरिक उड्डयान प्राधिकरण सिमकोट शाखाका प्रबन्धक महेन्द्र बहादुर सिंहले बताए । यद्यपि सो एप्रोनमा जहाजले पाकिङका लागि परिक्षण भने गरेका थिए ।
प्रमुख सिंहले त्यति धेरै अग्लो गरि निर्माण गर्न आवश्यक नरहेको एप्रोनमा माटो भर्ने क्रममा कसिलो किसिमले रोलर मेशिन सञ्चालन नगरे कै परिणाम अहिले एप्रोनमा भाँसिएको बताए । बिमानस्थल भन्दा तीस मिटर माथि उठाएर उक्त एप्रोन निर्माण गरिएको छ ।
माटो पर्ने क्रममा राम्रोसंग रोलर चलाउन आवश्यक पर्ने तर त्यसरी माटो थिच्चीने गरि नचलाएको कारण भरिएको माटो तल झरेपछि एप्रोन भाँसिएको हो । नयाँ एप्रोन अग्लो गरि निर्माण गरिएको कारण बिमानस्थलका कर्मचारीहरुलाई जहाज टेक अफ गर्ने अन्तिम क्षेत्र देख्न सकिने अवस्था समेत छैन ।
एप्रोनको दक्षिणी किनारमा तीन मिटर लम्बाई र दुई फिट गहिरो एप्रोनको भाग भाँसिएको छ । सिमकोट बिमानस्थल संरचना निर्माण आयोजनाका प्रमुख बिद्यानन्द किशोरले वर्षामा पानी कालो पत्रेमा चुहिएको कारण भाँसिएको बताए ।
निर्माण कम्पनीको लापरवाही र कमसल कालोपत्रेको कारण एप्रोनको भाग सञ्चालनमा नआई र निर्माण कम्पनीले हस्तान्तरण नगर्दै भ्वाङ परेको आयोजनाले स्वीकार गरेको छ । कमसल कालो पत्रेको कारण वर्खामा पानी चुहिएपछि माटो बगाएर लग्दा उक्त कालो पत्रे गरेको एप्रोन भाँसिएको बताउदै सो भागमा नयाँ किसिमले निर्माण गर्न निर्माण कम्पनीलाई परिपत्र गरेको गरिएको थियो ।
अब भाँसिएको भाग मात्र नभएर नयाँ निर्माण गरिएको एप्रोनको दक्षिणतर्फको सम्पुर्ण भाग पून निर्माण गर्नु पर्नेछ । उक्त योजना क्याराभान गाल्भा जेवीले निर्माण गरेको हो । २०७४ सालमा उक्त निर्माण कम्पनीले एप्रोन निर्माणका लागि आयोजनासंग समझौता गरेको थियो ।
तोकिएको समयमा निर्माण कार्य पुरा नभएपछि पटक पटक म्याद थप्ने कार्य भएको थियो । यसका लागि नागरिक उड्डयान प्राधिकरणले १७ करोड लागतमा निर्माण कम्पनीसंग सम्झौता गरेको थियो । निर्माण कम्पनी पक्षले दुई करोड रुपियाँ भुक्तानी लिन बाँकी रहेको कारण प्राधिकरणलाई भाँसिएको भागको काम गर्न समस्या भने हुने छैन ।
सो एप्रोनको अन्य भागमा पनि कालो पत्रे उप्केर जान थालि सकेको छ । यसअघि पनि सोही एप्रोनका पुर्व तर्फ कालो पत्रे चिरा परेपछि टाल्ने कार्य भएको थियो । सिमकोट बिमानस्थलसंग यो सहित तीन वटा एप्रोन रहेका छन् ।
















