चिसोले सिमेन्टको काम नहुने भएपछि पक्की पुलको निर्माण कार्य बन्द

फोटो क्याप्सन नाम्खा गाउँपालिका– ४ को याङ्गार खोलामा चिसोको कारण निर्माण कार्य रोकिएको पक्की पुलको संरचना । तस्बिर ः सि.टा

सि.टा. समाचारदाता
सिमकोट । सिमकोट हिल्सा सडक खण्डमा पर्ने नाम्खा गाउँपालिका– ४ को याङ्गार खोलाको पक्की पुलको निर्माण कार्य तीन महिनादेखि गरिएको छ । अत्याधिक चिसोले बरफ जम्दा सिमेन्टको कार्य गुणस्तरीय नहुँने भएपछि आयोजनाले नै काम रोकेको हो ।

गत मङ्सीर दोस्रो हप्ताबाट याङ्गार खोलाको पक्की पुलको निर्माण कार्य रोकिएको हिल्सा सिमकोट सडक आयोजनाका योजना प्रमुख बेलबहादुर नेपालीले बताए । सिमेन्टको काम चिसोको कारण गुणस्तरीय नहुने कुरा प्राविधिक रुपमा देखिएपछि काम रोक्नु परेको होे ।

पुल निर्माणको जिम्मा पाएको धुलिखेल निसान जेभीले त हिउदमा पनि काम सुचारु राख्ने आयोजनासंग जनाएको थियो । क्यामिकल मिसाउन र सिमेन्टको अनुपात मिलाउन कठिन हुने भएपछि फिल्डमा खटिएका प्राविधिकले नै काम रोक्न निर्माण कम्पनीलई निर्देशन दिएको थियो ।

सो स्थानमा तापक्रम माई रहेको कारण निर्माण स्थलको पानीमा बरफ जम्ने गरेको छ । चिसो अझै भई रहेको कारण पुल निर्माण कार्य कहिलेबाट सुरु हुने हो यसै भन्न सकिने अवस्था भने रहेको छैन । हाल सो पुलको काम तीस प्रतिशत सम्पन्न भई सकेको छ । दुई वर्षमा सम्पन्न गर्ने गरि २०७६ सल बैशाख १० गते निर्माण कम्पनीले आयोजनासंग सम्झौता गरेको थियो ।

कोरोनाको कारण निर्माण सामाग्री जुटाउन कठिन भएको भन्दै २०७८ साल चैत ३० गते पहिलो म्याद थप गरिएको थियो । त्यसपछि पनि सो पुल सम्झौता मितिमा निर्माण कार्य पुरा नभएपछि अरु दुई पटक म्याद थप गर्ने कार्य भएको छ । अब पुल निर्माण गरि सक्नु पर्ने अन्तिम म्याथ २०८२ असार मसान्त रहेको थियो ।

बीस मिटर लम्बाई पुलेको चौढाई फुटपात सहित एघार मिटर रहेको छ । उक्त पुल निर्माणका लागि आयोजनाले नौ करोड ३३ लाख १३ हजार १९२ रुपियाँ लागत लाग्ने गरि सम्झौता गरेको थियो । निर्माण कम्पनीले असार मसान्तसम्म पुलको निर्माण कार्य सम्पन्न गर्ने जनाएको भएपनि पुलको निर्माण कार्य तोकिएको मितिमा पुरा हुन कठिन देखिएको छ ।