सि.टा. समाचारदाता
सिमकोट । जिल्लाभर कडा खाले रुघाखोकीको प्रकोप बढेको छ । मौसममा परिवर्तन आएसंगै चिसो बढै जाँदा कडा खाले रुघाखोकीका बिरामीहरु बढ्दै गएका हुन ।
दुई हप्तायता जिल्ला अस्पतालमा यस्ता मौसमी फ्लुका बिरामी धेरै आउन थालेको चिकीत्कस मुकेश यादवले बताए । कडा खाले रुघाखोकीका बिरामीहरु धेरै आउन थालेपछि अस्पतालमा चाप बढी रहेको बताउदै उनले दसैं बिदा सुरु भएको कारण चिकीत्सक र स्वास्थ्यकर्मीहरुलाई चौवीसै घण्टा काममा खटिने ब्यवस्था गरिएको बताए ।
मौसममा आएको परिवर्तन कै कारण यस्ता बिरामीहरु बढेको भनाई उनको छ । चिकीत्कसका अनुसार यो बिराम पनि एक हप्ता लामोसम्म रहने र बिरामीले ख्याल गर्न नसके यसबाट समस्या पनि आउन सक्ने छ ।
अलि कडै खाले रुघाखोकी भएको कारण सवैले सावधानी अपनाउन उनको आग्रह छ । तातो पानीको प्रयोग, झोलिलो खानेकुराको प्रयोग, जथाभावी बाहिर ननिस्कन र चाडवाडमा खानेकुरामा ध्यान दिन पनि आवश्यक छ ।
ताँजाको गाउँपालिकाको स्वास्थ्य शाखाका प्रमुख रामलाल देवकोटाले पाँच वटै वडामा रुघाखोकीका बिरामीहरु बढी रहेको बताए । रुघाखोकीको प्रकोप बढेपछि सार्वजनिक बिदा भएपनि गाउँगाउँमा स्वास्थ्यकर्मी परिचालन गरिएको उनको भनाई छ ।
दसैंमा खानपानमा समेत बिशेष ध्यान पुर्याउन उनले सर्वसाधारणलाई आग्रह गरे । यता अदानचुली, सर्केगार्ड, खार्पुनाथ र नाँम्खा गाउँपालिकामा पनि रुघाखोकीका बिरामीहरु बढी रहेका छन ।










