सि.टा. समाचारदाता
सिमकोट । नेपाल बीमा प्राधिकरणले केही समयअघिबाट रोकेको अभिकर्ताको दर्ता प्रणाली फागुन २२ गतेबाट सुचारु गरेको छ । बीमा नियमावली २०८१ मा अभिकर्ताको शैक्षिक योग्यता तथा परीक्षा शुल्कमा नयाँ नयाँ व्यवस्था लागु भएअनुसार प्राधिकरणले फागुन १३ गतेबाट अभिकर्ताहरुको परीक्षाको लागि दर्ता प्रणाली रोकेको थियो ।
नेपाल बीमा प्राधिकरणले आज फागुन २२ गतेबाट बीमा नियमावली २०८१ मा भएको अभिकर्ताको परीक्षा शुल्क तथा शैक्षिक योग्यताका लागि व्यवस्था भएअनुसार सिस्टम अपडेट गरेपछि अभिकर्ता दर्ता प्रणाली खुला भएको जनाएको हो ।
अब नयाँ अभिकर्ता बन्न चाहानेहरुले प्राधिकरणले अभिकर्ताको लागि सञ्चालनमा ल्याएको सिस्टम मार्फत अभिकर्ताको लागि दर्ता गर्न सक्नेछन् । अब अभिकर्ता बन्नका लागि अनिवार्य रुपमा प्लस टु गरेको हुनुपर्ने छ भने परीक्षा शुल्क भने २५ सय रुपैयाँ तोकिएको छ ।
बीमा ऐन, २०७९ मा ‘बीमा मध्यस्थकर्ताले इजाजत प्राप्त गर्नुअघि तोकिए बमोजिमको परीक्षा उत्तीर्ण गरेको हुनुपर्नेछ’ भन्ने व्यवस्था भए बमोजिम प्राधिकरणले २०८० कार्तिक १७ गतेबाट जीवन बीमा अभिकर्ताको अनलाइन परीक्षा शुरू गरेको हो ।











