सि.टा.समाचारदाता
सिमकोट । दक्षिणी क्षेत्रको अदानचुली गाउँपालिकामा एकिकृत शिबिर सञ्चालन हुँदा स्थानीयलाई सहज भएको छ । चार वटा सरकारी कार्यालयद्धारा संञ्चालित दुई दिने एकिकृत सार्वजनिक शिबिरबाट गाउँघर मै यति धेरै सेवाग्राहीले सेवा प्राप्त गर्नु भएको हो ।
सदरमुकाममा रहेका कार्यालयहरुबाट मात्रै सेवा दिँदै आएका सेवाप्रदायक निकायहरुलाई गाउँपालिकास्तरमा पुगेर सेवा दिने कार्य भएको छ । एकिकृत शिबिरबाट एक हजार ८३७ जना सेवाग्राहीहरुले प्रत्यक्ष रुपमा सेवा प्राप्त गरेका छन । शिबिर मार्फत जिल्लाका अदानचुली गाउँपालिकाका मात्रै नभइ अन्य सेवाग्राहीले समेत सेवा लिन पाएका छन् ।
यतिबेला पालिकामा शिबिर आएकाले उपचार गराउने संख्या पुरुष भन्दा महिलाको धेरै देखिएको छ । गाउँघर मै सेवाहरु आउदा स्थानीयलाई सहज भएको हो । शिबिरमा स्वास्थ्य सेवा कार्यालयले स्त्री रोग सम्बन्धी चेकजाच, दन्त सम्बन्धी चेकजाँच र जनरल चेकजाँच, पुरुष स्थायी बन्ध्याकरण, महिलाका लागी तल्लो पेट दुख्ने, माथिल्लो पेट दुख्ने, पाठेघर सम्बन्धी चेकजाच गरेको हो ।
चार जना महिलामा बाँझो पनको समस्या देखिएको थियोे । शिबिर अन्र्तगतको एलोपेथिक तर्फ ३७९ जनाले सेवा पाएका छन् । पाठेघरको मुखको क्यान्सरको २१० जना महिलाले जाँच गराएको १२ जनामा पोजेटिभ देखिएको थियो । यस्तै दाँतको उपचार सेवा ८० जनाले पाउनु भएको थियो । शिबिरमा ३९ जना पुरुषले स्थायी बन्ध्याकरण गरेका थिए ।
आयुर्वेद स्वास्थ्य केन्द्रले ग्यास्टीक, ढाड कम्बर दुख्ने, पेट दुख्ने, पेट फुल्ने, बाथ रोगको तेल बितरण लगायतका औषधि निःशुल्क रुपमा बितरण गरेको थियो । पालिकामा बिशेषज्ञ डाक्टरबाट चेकजाँच गराउन नपाएका सेवाग्राहीहरुले शिबिरमा धेरै आएका थिए ।
शिबिरमा रहेको पशु अस्पाताल तथा पशु सेवा कार्यालयले सेवा दिने पशु बस्तुका लागि बिभिन्न रोगको औषधी बितरण गरिएको थियो । २८० जना कृषकले बिभिन्न सात प्रकारका रोगहरुका लागि १३ हजार मात्रा औषधी बितरण गरिएको थियो ।
शिबिरकका लागि अर्को सेवा प्रदायक निकाय उद्योग तथा उपभोत्ता हित संरक्षण कार्यालयले ब्यक्तिगत तथा साझेदारी फर्म दर्ता, नबिकरण, ब्याबसाय दर्ता नबिकरण, खारेज लगायतका काम भएका थिए । दर्ता तथा नबिकरण गर्ने कार्य पालिकबाट नहुने भएको कारण सो सेवा शिबिरमा पाउदा सेवाग्राही खुसी भएका थिए ।
सदरकामु सिमकोट पुगेर दर्ता तथा नबिकरण गर्दा २० देखी ३० हजारसम्म खर्च हुने गरेको भएपनि पालिकामा शिबिर आउँदा सेवाग्राहीको खर्च मात्र नबचेर समय समेत बचत छ । दर्ता नबिकरण सेवा मार्फत ८३ जनाले सेवा लिएका थिए । शिबिरबाट चार वटा सरकारी कार्यालयहरुल २२ प्रकारका सेवा प्रदान गरिएको थियोे ।
यो सेवा जिल्ला प्रशासन कार्यालयका समन्वयमा आयुर्बेद स्वास्थ्य केन्द्र, स्वास्थ्य सेवा कार्यालय, पशु अस्पताल तथा पशु सेवा कार्यालय र उद्योग तथा उपभोक्ता हित संरक्षण कार्यालयद्धारा प्रदान गरिएको हो । सङ्घीयताको कार्यान्वयपछि सदरमुकाम बाहिर पहिलो पटक एकिकृत शिबिर सञ्चालन भएको हो ।
















