सि.टा. समाचारदाता
सिमकोट । कर्णाली करिडोरको हुम्ला खण्डको सडक आगामी असार मसान्तसम्मका लागि बन्द हुने भएको छ । हुम्ला खण्डको खार्पुनाथ गाउँपालिकाको बोक्चे गौडादेखि भीगौडा हुँदै याङ्चु कुनाको सडकको स्तरोन्नती र खार्पुमा बेलिब्रीज निर्माण कार्य हुने भएको कारण सडक बन्द हुने भएको हो ।
कर्णाली करिडोरको बोक्चे गौडा र भीगौडाको कडा चट्टानी भीरको हालको सडकलाई ग्रेड मिलाउने कार्य नेपाली सेनाले गर्ने भएपछि चैत २५ गतेबाट सडक निर्माणको काम सुरु हुने भएको कारण आगामी असार मसान्तसम्मका लागि सडक बन्द हुने भएकोे छ ।
त्यो संगै बोक्चे गौडाबाट खार्पुनाथ गाउँपालिका कै याङ्चु कुनासम्मको आठ सय मिटर सडकको पनि सेनाले स्तरोन्नती गर्ने कार्य यो अवधि मै गर्ने छ । उक्त सडक असजिलो भएको र हाल ट्याक खोलिएको भएपनि यातायातका साधनहरु सञ्चालनमा समस्या हुँदै आएको छ ।
निर्माण ब्यवसायीले उक्त खण्डको सडकको स्तरोन्नती गर्ने कार्य राम्रोसंग गर्न नसकेको भन्दै जिल्लावासीको माग अनुसार नेपाल सरकारले गत पुसमा मन्त्रीपरिषदको निर्णय गरेर काम गर्ने जिम्मा नेपाली सेनाको बिकास निर्माण दललाई लगाएको थियो ।
सबै प्रकृया मिलाउन समय लागेको र अब सेनाले चैत २५ गतेबाट काम सुरु गर्ने छ । बोक्चे गौडा र भिगौडाको चट्टानी भीर बिष्फोट गर्नुपर्ने भएको कारण निर्माण अवधिभर मानिस र पशुबस्तु आउजाउलाई पुर्ण रुपमा रोक लगाउने सुचना जिल्ला प्रशासन कार्यालयले निकालेको छ ।
उक्त सडक निर्माण अवधिभर यातायातका साधन सञ्चालनका लागि अन्य बिकल्प समेत नभएको कारण यातायात सेवा समेत बन्द हुनेछ । यसका लागि जिल्ला विपद ब्यवस्थापन समितिको बैठकले समेत सडक बन्द गरेर उक्त खण्डको सडक निर्माण कार्य सुरु गर्नु पर्ने निर्णय गरि सकेको छ ।
नेपाली सेना कर्णाली करिडोर सडक निर्माण कार्यदलका प्रमुख सेनानी अम्रित पराजुलीले आफुहरु पुर्ण रुपमा काम गर्ने तयारीमा रहेको बताए । उनले बिष्फोटक पदार्थ, जेसिभी मेसिन, कम्प्रेशर मेशिन सुनखाडामा तयारी अवस्थामा रहेको र कामदार समेत खोज्ने कार्य भई रहेकोले काम अब जति सक्दो चाँडो सुरु गर्ने अवस्थामा सेना रहेको बताए ।
चट्टानी भीर खार्पुको बेलिब्रीजको काम आगामी असार मसान्त्सम्म जसरी नि कार्य सम्पन्न गर्नुपर्ने बाध्यतामा सेनासंग रहेको छ । असारभित्र यो काम जसरी पनि सम्पन्न गरेर सदरमुकाम सिमकोटलाई औपचारिक रुपमा राष्ट्रिय सडक सञ्जालसंग जोड्नु कार्यदलका लक्ष्य रहेको उनले बताए ।
यसैबिच स्थानीय प्रशासनले बोक्चे गौडा सडक बन्द हुने भएको कारण यो तीन महिनाके अवधिका लागि आवश्यक पर्ने खाद्यान्न, लत्ताकपडा, निर्माण सामाग्री, औषधी लगाएतका अत्यावश्यक सामाग्रीको ब्यवस्था काम सुरु हुनु भन्दा अगाडीको अवधिमा गरि सक्न सवैमा आग्रह गरेको छ ।












