हुम्लाका सात वटा बालीको मुल्य निर्धारण

सि.टा समचारदाता

सिमकोट । हुम्लामा उत्पादन हुने सात वटा स्थानीय रैथाने बालीको मुल्य निर्धारण गर्ने कार्य भएको छ । जिल्लामा प्राथामिक खरिद समितिको बैठकले यस आर्थिक वर्षका लागि सात प्रकारका रैथाने बालीको मुल्य निर्धारण गरेको हो ।
समितिको बैठकले हुम्ला जिल्लामा उत्पादन हुने रैथाने बाली मध्य सात वटाको मुल्य निर्धारण गर्ने कार्य गरेको छ ।

अघिल्लो वर्ष भन्दा रैथाने बालीको मुल्य पाँच देखि दश रुपियाँ प्रतिकेजी बृद्धि समेत गरिएको छ । नयाँ निर्धारण भएको मुल्य अनुसार चिनोको चामल प्रतिकेजी १८० रुपियाँ निर्धारा गरिएको छ ।

त्यसैगरि कागुनोको चामल प्रतिकेजी १८० रुपियाँ, सिमी प्रतिकेजी १७० रुपियाँ, तिते फापर प्रतिकेजी एक सय रुपियाँ, मिठे फापर प्रतिकेजी १२० रुपियाँ, उवा प्रतिकेजी १२० रुपियाँ र कोदो प्रतिकेजी एक सय रुपियाँ मुल्य निर्धारण गरिएको छ । यसमा चिनो, कागुनो र तिते फापरमा प्रतिकेजी पाँच रुपियाँ मुल्य बृद्धि गरिएको छ भने सिमीमा प्रतिकेजी दश रुपियाँ मुल्य बृद्धि गरिएको छ ।

नयाँ निर्धारण भएको मुल्य अनुसार अव खरिद बिक्री सुरु हुनेछ । यी सबै रैथाने बालीको खाद्यान्न खाद्य ब्यवस्था तथा ब्यापार कम्पनी लिमिटेडले गाउँपालिकासंग सम्झौता गरेर खरिद गर्ने र काठमाडौं ढुवानी गरेर बिक्री गर्ने गरेको छ । यसरी हुम्ला जिल्लामा रैथाने बालीको आधिकारिक रुपमा मुल्य निर्धाणर गरिएको तेस्रो वर्ष हो । यसअघि मुल्य निर्धारण बिनै खरिद बिक्री हुने गथ्र्यो ।