सि.टा. समाचारदाता
सिमकोट । हिमाली जिल्ला हुम्लामा भित्रिने यातायातका साधनहरुलाई अब खोला तर्नु नपर्ने भएको छ । यसअघि बाजुरा जिल्लाको बुढीनन्दा नगरपालिकाको पिलु खोलामा पुल नहुँदा खोला तर्नु पर्ने अवस्था रहेको भएपनि हाल बेलिब्रीज निर्माण भएर सञ्चालनमा आउदा उक्त समस्या हटेको हो ।
सुर्खेतबाट हुम्ला जिल्लाका लागि नियमित बोलेरो जीप चलाउदै आएका चालक ज्वरा बोहराले पिलु खोलामा बेलिब्रीज निर्माण भएर सञ्चालन भएपछि सहज भएको बताए ।
यसअघि पुल नहुँदा खोला तर्नु परि रहेको बताउदै उनले यसले धेरै पटक गाडीमा ईन्जिनमा समस्या देखिएको बताए । अब नयाँ बेलिब्रीज निर्माण भएपछि खोला तर्नु पर्ने बाध्यता हट्दा सवै खाले यातायातका साधनहरुलाई सहज भएको छ । उक्त खोलामा पुल नहुँदा यसअघि वर्खायाममा यातायातका साधनहरु बन्द हुने गरेका थिए ।
अब बेलिव्रीजको निर्माणपछि बाहै महिना उक्त खोलामा यातायातका साधन सञ्चालनमा आउने छन । अर्का गाडी चालक जितबहादुर मगरले हुम्ला जाने गाडीहरुले वर्खाको समयमा गाडी चलाउन बन्द गर्नुपर्ने वा खोला पार गर्न स्काभेटर लगाएर भाडाा तिर्नु पर्ने बाध्यता अव हटेको बताए । यसले गर्दा यात्रा, चालक र यातायातका साधन सवैलाई यात्रा गर्न सहज भएको उनको भनाई रहेको छ ।
कर्णाली करिडोर अन्र्तगत बाजुराबाट हुम्ला जिल्लाका लागि यातायातका साधनहरु सहज रुपमा सञ्चालनका लागि बाजुराको पिलुमा निर्माण कार्य सुरु भएको बेलिब्रीज सम्पन्न भएर सञ्चालनमा आएको खुलालु सलीसल्ला सडक योजनाका सुचना अधिकारी अन्तराज शहीले बताए ।
२०८१ साल बैशाख ७ गते सम्झौता भएर समय मै निर्माण कार्य पुरा भएर सञ्चालनमा आएको हो । खोला भन्दा दश मिटर अग्लो र ४८ दशमलव आठ मिटर लम्बाई बेलिब्रीज रहेको छ । दुई करोड ३४ लाख ९७ हजार रुपियामा लागत लाग्ने गरि अज नेप्लीज जेभीसंग योजनाले सम्झौता गरेको थियो ।
निर्माण कार्य सम्पन्न गर्न एक वर्षको समयावधी रहेको भएपनि निर्धारित समय भन्दा अगाडी नै काम सम्पन्न भएर पुल सञ्चालनमा आएको होे । बर्खायाममा यातायातका साधनहरुको समस्या देखेर नै कार्यालयले बेलिब्रीज र्मिण कार्य अगाडी सारेको हो ।




















