सि.टा. समाचारदाता
सिमकोट । नाम्खा गाउँपालिका– ६ को हिमालपारीको गाउँ लिमीको एउटा मात्र सामुदायीक विद्यालयमा आवासीय सुविधाको ब्यवस्था गरिएको छ । चीनसंगको सिमाना रहेको दुरदराजका बालबालिकाहरुलाई गुणस्तरीय शिक्षा प्रदान गर्नका लागि विद्यालय मै बस्ने ब्यवस्था गर्न यो सुविधा प्रदान गरिएको हो ।
लिमीको हिल्जी गाउँको सुनखानी आधारभूत विद्यालयमा अध्ययनरत बिधार्थीहरुलाई आवासीय सुविधा प्रदान गरिएको विद्यालयका शिक्षक तेपेन्द्र बुढाले बताए । यसअघि विद्यालयमा अध्ययनरत बिधार्थीहरुका अभिभावक मिलेर बिहान एक छाक खाना विद्यालय मै गर्ने ब्यवस्था गरिदै आएकोमा अव भने विद्यालय मै आवासीय सुविधा प्रदान गरिएको हो ।
विद्यालयमा बालबिकासदेखि कक्षा सातसम्म २५ जना बालबालिका रहेको र ती बिधार्थीहरु मध्य कक्षा एकदेखि सातसम्मका २० जना बिधार्थीहरुलाई विद्यालयमै आवासीय सुविधा दिएर राख्ने कार्य भई रहेको छ । यसवर्षबाट अभिभावकलाई समेत आर्थिक बोझ हटेको छ । यसका लागि आत्मीय संस्थाले विद्यालयमा अध्ययनरत बिधार्थीहरुका लागि आवासीय सुबिधा प्रदान गर्ने गरेको हो ।
लिमीका वडा अध्यक्ष पाल्जोर तामाङले गुणस्तरीय शिक्षा लिमीका बालबालिकालाई प्रदान गर्न सहयोगी संस्था लागि परेको बताउदै अव सम्पुर्ण रुपमा लिमी बिधार्थीहरुलाई शिक्षा आर्जन गर्ने कुरा निुशल्क भएको बताए । हाल लिमी मै रहेकी संस्थाको राष्ट्रिय ब्यवस्थापक एन्जिला थापाले दुर्गमका बिधार्थीहरुलाई पठनपाठनमा सहयोग पुर्याउनका लागि यो सुविधा प्रदान गरिएको बताईन ।
यसका लागि होस्टेलमा लाग्ने सम्पुर्ण खर्च संस्थाले ब्यवस्था गर्दै आएको छ । संस्थाले छ महिनायता यो सुविधा प्रदान गर्न सुरु गरेको होे । पहिले भान्साको काम अभिभावकले पालो लगाएर गर्ने गरेकोमा हाल संस्थाले नै कर्मचारीको ब्यवस्था गरेको छ । लिमीका बिधार्थी लिमी मै गुणस्तरीय शिक्षा प्राप्त गर्न सफल होस भन्नका लागि संस्थाले यो सहयोग उपलब्ध गराएको छ । उक्त विद्यालयलाई कक्षा दशसम्म पठनपाठन गराउने लक्ष्यका साथ संस्थाले सहयोग गरि रहेको र यो सहयोग लामै समय रहने उहाँले बताउनुभयो ।
विद्यालयको नयाँ भवन पनि संस्थाले नै निर्माण गरेको हो । विद्यालयका लागि तीन जना शिक्षकको ब्यवस्था पनि संस्थाले गर्दे आएको छ । त्यसैगरि बिधार्थीहरुलाई शैक्षिक सामाग्री पनि सहयोग गर्दै आएको छ । यो सहयोग अमेरिएकाको चित्त युएसको रहेको छ । यसले बिगत दश वर्षदेखि सहयोग गर्दै आएको हो ।
















