आजवाट हुम्लाका १४१ वटा सामुदायीक विद्यालयमा अनिश्चितकालीन बन्द हुने

सि.टा. समाचारदाता
सिमकोट । नेपाल शिक्षक महासंघले गर्न लागेको काठमाडौं केन्द्रित निर्णायक आन्दोलनलाई सर्मथन गर्दै आजवाट हुम्ला जिल्लाका १४१ वटा सामुदायीक विद्यालयबाट बन्द हुने भएका छन् । केन्द्रीय आन्दोलनमा सहभागिता जनाउन हुम्ला जिल्लाका शिक्षक काठमाडौँ जाने भएको कारण विद्यालय बन्द गर्न लागिएको हो ।

महासंघको केन्द्रीय विरोध कार्यक्रममा सहभागीता जनाउन हुम्ला जिल्लाका शिक्षक महासंघमा आवद्ध शिक्षक संगठनका प्रतिनिधि काठमाडौं गएको शिक्षक संघका सचिव लक्ष्मण बोहराले बताए । त्यस कारण आजवाट सबै सामुदायीक विद्यालयहरु बन्द हुने उनले बताए । जिल्लामा पनि शिक्षकहरु मिलेर आज र्याली सहित शिक्षा विकास तथा समन्वय ईकाईमा धर्ना दिने कार्यक्रम रहेको छ ।

यसअघि महासंघमा आवद्ध शिक्षक संगठनका प्रतिनिधिहरुको सम्युक्त बैठकले विद्यालय बन्द गरेर राजधानीमा गर्न लागिएको आन्दोलनमा सहभागिता जनाउन काठमाडौं जाने निर्णय भएको थियो । हुम्ला जिल्लाबाट महासंघमा नेपाल शिक्षक संघ, नेपाल शिक्षक संगठन, नेपाल राष्ट्रिय शिक्षक संगठनलगायत पाँच वटा शिक्षक संगठन आवद्ध हुँदै आएका छन् ।