सि.टा. समाचारदाता
सिमकोट । शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयले आन्दोलनरत शिक्षकलाई वार्तामा डाकेको छ ।। मन्त्रालयले बिहीबार विज्ञप्ति प्रकाशित गरी वार्तामा डाकेको हो ।
‘शिक्षक समुदायसँग विगतझैँ फेरि पनि सान्दर्भिक छलफल गर्न र साझा धारणा निर्माण गर्न नेपाल सरकार हमेसा तयार रहेकाले यसका लागि शिक्षक तथा कर्मचारीका प्रतिनिधिहरूलाई मन्त्रालयमा हार्दिक स्वागत गरिएको वार्तामा आउन आग्रह गरिएको वज्ञप्तिमा उल्लेख छ ।
नेपाल शिक्षक महासंघको नेतृत्वमा देशभरका शिक्षकहरूले काठमाडौँमा आन्दोलनमा जारी राखेका छन्। महासंघले विद्यालय शिक्षा विधेयक संसद्बाट तत्काल पारित गर्नुपर्ने माग गर्दै आन्दोलन गरेको हो। विधेयक संसद्को शिक्षा स्वास्थ्य तथा सूचना प्रविधि समितिमा विचाराधीन छ । शिक्षकहरूले संसद्को हिउँदे अधिवेशनबाटै विधेयक पारित गर्नुपर्ने माग राखेका थिए। यद्यपि हिउँदे अधिवेशन अन्त्य भइसकेको छ। शिक्षक नेताहरूले अध्यादेशबाट भए पनि विधेयक ल्याउनुपर्ने माग गरेका छन्।
विगतमा सरकार र शिक्षकबीच भएका सहमतिका बुँदा समेटेर विधेयक पारित गर्नुपर्ने जोड शिक्षकहरूको छ । यसैगरी विद्यालय शिक्षा विधेयक समयमै पारित गर्ने वातावरण सिर्जना गर्नका निमित्त सिंगो शिक्षक समुदायको पैरवी, सरोकार र ऐक्यबद्धताका बारेमा मन्त्रालय सदैव सकारात्मक रहेको मन्त्रालयको भनाइ छ ।
विज्ञप्तिमा शिक्षक समुदायका प्रतिनिधिहरूसँगको यथोचित छलफल र परामर्शबाट विधेयकको मस्यौदा तयार गरिएकाले विद्यालय शिक्षा विधेयक चाँडै जारी होस् भन्ने अपेक्षा रहनु र यस विषयप्रति शिक्षक तथा कर्मचारीको चासो रहनु स्वाभाविकै भएको उल्लेख गरिएको छ ।
शिक्षा मन्त्रालयले विधेयक संसद्मा पेस हुने, छलफल हुने र स्वीकृत हुने विधायकी प्रक्रियाका सम्बन्धमा निश्चित कानुनी बन्दोबस्तबारे पनि स्मरण गराएको छ। विधेयक स्वीकृतिको पर्खाइमा रहेकाले यसका लागि सामूहिक सन्देश प्रवाह गर्न मन्त्रालय सदैव सकारात्मक रहेको विज्ञप्तिमा उल्लेख छ।















