वडा कार्यालयको भवन निर्माण सम्पन्न

फोटो क्याप्सन सिमकोट गाउँपालिका– ८ स्याँडाको नवनिर्मित कार्यालय भवन । तस्बिर ः सि.टा.

सि.टा. समाचारदाता
सिमकोट । सिमकोट गाउँपालिका– ८ को आफ्नै नयाँ भवन निर्माण कार्य सम्पन्न भएको छ । गाउँपालिकाले लागत साझेदारी लाग्ने गरि बजेट बिनियोजित गरेर वडाको भवन निर्माण कार्य सम्पन्न गरेको हो ।

डेढ वर्ष लगाएर वडा कार्यालयको भवनको निर्माण कार्य सम्पन्न भएको वडा अध्यक्ष कमल बुढाले बताए । वडाको नाममा जग्गा भएपनि भवन निर्माण हुन नसकेको बेला गाउँपालिकाले आफ्नो नाममा जग्गा भएका वडाको भवन निर्माण गर्ने नीति लिए अनुसार आफ्नो वडा भवन निर्माण भएको होे ।

दुई तले पक्की भवन निर्माण भएपछि अब वडा कार्यालयलाई भाडाको घरमा वस्नु पर्ने बाध्यता हट्नेछ । हाल भाडाको घरमा वडा कार्यालन सञ्चालन हुँदै आएको छ । उक्त वडाले अझ सिमकोटमा समेत सम्पर्क कार्यालय भाडा मै लिईएको छ । तल्लो तलामा तीन वटा कोठा र तीन वटा शौचालन निर्माण भएका छन भने माथिल्लो तलामा तीन वटा कोठा र एउटा हल निर्माण भएको छ ।

एउटा वडा कार्यालयका लागि आवश्यक पर्ने भौतिक संरचना अनुसार भवनको निर्माण गरिएको छ । भवन निर्माण भएको र भित्र मिलाउने काम केही बाँकी रहेकोले यही आर्थिक वर्षभित्र भाडाको कार्यालय नयाँ भवनमा सार्ने तयारी भई रहेको छ । यो भवनको निर्माणको जिम्मा पाए अनुसार एम के एण्ड उत्कृष्ट जेभीले निर्माण कार्य सम्पन्न गरेको हो ।

भवनको लागत एक करोड २९ लाख९६ हजार ६८० रुपियाँ रहेको भएपनि ठेक्काको कुल कवुल रकम ६६ लाख ८५ हजार ५३६ रुपियाँमा निर्माण भएको हो । यसमा गाउँपालिका र संघीय सरकारको अनुदान रकम रहेको छ । भवन निर्माण कार्यले उक्त वडाका ४७६ घरधुरीको दुई हजार ९८१ जना संख्या लावान्भित हुनेछन् ।

नयाँ भवन निर्माण कार्यसंगै सो भवनलाई घेरवार र दक्षिणी क्षेत्रमा भिरोलो जमिन भएको कारण ग्याविन लगाउने कार्य पनि सम्पन्न भएको छ । स्थानीय उपभोक्ताहरुले बाह्र लाख ५५ हजार ७९२ रुपियाँ लागतमा सो कार्य सम्पन्न भएको छ । यो सहित सिमकोट गाउँपालिकाका दुई वटा वडाका आफ्नै भवन भएका छन । अझै छ वडाहरु भाडा कै भवनबाट काम सम्पादन गर्दै आएका छन् । वडाको नाममा जग्गा हुने बित्तिक्कै भवन निर्माण गर्ने गाउँपालिकाले जनाएको छ ।