बोक्चे गौडामा कडा चट्टान बिष्फोट गरेर सडक निर्माण धमाधम

फोटो क्याप्सन बोक्चे गौडामा चट्टान फुटाउने कार्य हुदै । तस्बीर ः सि.टा.

सि.टा.समाचारदाता
सिमकोट । कर्णाली करिडोरको हुम्ला खण्डमा पर्ने बोक्चे गौडामा कडा चट्टान फोडेर सडकको स्तरोन्न्ती गर्ने कार्य धमाधम भई रहेको छ । यसअघि सडकको ग्रेड नमिलेको भन्दै उक्त खण्डको सडकको निर्माण गर्ने जिम्मा सरकारले सेनालाई दिए पछि सेनाले चट्टानी भीर बिष्फोट गरेर सडक निर्माण कार्यलई तिब्रता दिएको हो ।

नेपाली सेनाको बोक्चे गौडा याङ्चु बगर सडक निर्माण दलले हाल बोक्चे गौडामा दैनिक कडा चट्टानमा होल खोप्ने, बिष्फोट गर्ने र स्काभेटरले सफा गर्ने कार्य धमाधम भई रहेको जनाएको छ । बोक्चे गौडामा चट्टान बिष्फोट गरेर ग्रेड मिलाउने कार्य जारी रहेको र अझै पन्द्र मिटर चट्टान तल झारेपछि सडकको ग्रेड मिल्ने अवस्था रहेको छ ।

चालीस जना कामदारले बिहान आठ वजेबाट बेलुका सात वजेसम्म होल खोप्ने कार्य गरि रहेका छन । एउटा स्काभेटरले विष्फोट भएको स्थानमा सडक गर्ने कार्य पनि संगसंगै हुदै आएको छ । दुई सय मिटर लामो भिरमा बिष्फोट गर्नु पर्नेछ । यसका लागि डेढ महिना समय लाग्ने सेनाले जनाएको छ । उक्त भीरमा आठ मिटर चौडा सडक निर्माण गरिनेछ ।

यता याङ्चु कुनाबाट पनि सडकको स्तरोन्न्ती गर्ने कार्य र चट्टान बिष्फोट गर्ने कार्य भई रहेको छ । सो क्षेत्रको दुई सय मिटर सडकको स्तरोन्नती गर्ने कार्य पुरा भएको छ । बाँँकी काम पनि भई रहेको छ । गत चैत २५ गतेबाट सो क्षेत्रको सडकको निर्माण कार्य सेनाले सुरु गरेको थियो ।

बैशाख १० गतेबाट १३ गतेसम्म यात्रुहरुलई आउजाउ गर्न र बिकास निर्माण तथा अन्य दैनिक उपभाोग्य सामान ढुवानीकाा लागि यातायात सेवा सुचारु गरिएको थियो ।