यसवर्ष यारी नाका भन्सार कार्यालयको राजस्व उठाउने लक्ष्य कति छ

सि.टा. समाचारदाता
सिमकोट । उत्तरी क्षेत्रको यारी नाका भन्सार कार्यालयले चालू आर्थिक वर्षमा १५ लाखभन्दा बढी राजस्व संकलन गर्ने लक्ष्य लिएको छ । चार महिनापछि सञ्चालनमा आएको कार्यालयले यस वर्ष १५ लाखभन्दा बढी राजस्व संकलन हुने अनुमान गरेको हो ।

अत्यधिक चिसोका कारण गत पुस १० गते यता बन्द भएको भन्सार कार्यालय पुनः सञ्चालनमा आएको हो । कार्यालय प्रमुख रामराज जैसीका अनुसार गत वर्ष १४ लाख बढी राजस्व संकलन गरेको भन्सारले यस वर्ष गत मंसिरसम्म साात लाख बढी राजस्व संकलन गरिसकेको छ । गतवर्ष विभागले पाँच लाख मात्रै राजस्व संकलन गर्ने लक्ष्य दिएकोमा तेब्बर राजस्व संकलन भएको थियो ।

कार्यालय प्रमुख जैसीले नेपाल–चीनको सीमा क्षेत्र हिल्साबाट भन्सारको सेवा सुरु भएको बताए । गत पुस उक्त क्षेत्रमा हिउँ पर्न थालेपछि विभागलाई जानकारी गराएरै कार्यालय बन्द गरिएको थियो । हिमपात हुने समयमा उक्त सडक खण्ड पूर्णरुपमा बन्द हुन्छ । नारा लेकमा जमेका हिउँ हिल्सा सिमकोट सडक योजनाले पन्छ्याउन थालेकोले यातायात सेवा पनि चाँडै सञ्चालमा आउने अपेक्षा गरिएको छ । यातायात सेवा सञ्चालनमा आए ताक्लाकोटबाट पनि सामान आयात पुनः सुरु हुनेछ ।

नेपाल र चीनको सीमाना हुम्लाको हिल्सामा स्थापना भएको यारी नाका भन्सार वर्षमा छ महिना मात्रै यो भन्सार खुल्छ । भन्सार सञ्चालन भएको समयमा बिहान नौ देखि एघार र दिउँसो दुई देखि चार बजेसम्म नाका खुल्छ ।

कार्यालय एक जना मात्रै स्थायी कर्मचारीको भरमा सञ्चालित भन्सारका सबै शाखा बर्षाँैदेखि ठप्प छन् भने अन्य सबै दरबन्दी रिक्त छ । कर्मचारीको दरबन्दी कायम गर्न सरकारको ध्यान पुगेको छैन् । कार्यालय प्रमुख जैसीले अनलाइन सिस्टममा काम गर्नुपर्ने भएपनि भन्सार कार्यालयमा इन्टरनेटसमेत नभएको बताए । यसबारे पटकपटक विभागमा भन्दा सुनुवाइ नभएको उनको भनाई छ । हिल्सामा २०७५ मा अध्यागमन कार्यालय स्थापना गरी भन्सार सञ्चालन गरिएको थियो ।