
सि.टा. समाचारदाता
हुम्ला । अपाङ्गता भएका नागरिकलाई घर मै पुगेर प्रमुख जिल्ला अधिकारी नारायण पाण्डले नागरिकताको प्रतिलिपि प्रदान गर्नु भएको छ । तल्लो शरिर प्यारालाईसिस भएर हिडडुल गर्न नसक्ने जानकारी प्रजिअ पाण्डेयलाई आई पुगेपछि उनी आफै गाउँमा पुगेर उक्त सुविधा दिएका हुन ।
नाम्खा गाउँपालिका– १ को साविक हेक्पा गाविस–५ को ताङ्गिन गाउँका छिङसुन्डुप तामाङलाई घर मै पुगेर नागरिकताको प्रतिलिपि प्रदान गरिएको प्रजिअ पाण्डेले जानकारी दिए । तामाङले यसअघि लिएको नागरिकता तेल लागेर केही नचिनिने र काम पनि नलाग्ने भएपछि उनका परिवारका सदस्यले प्रजिअ पाण्डेयसंग सो वारे जानकारी गराएका थिए ।
त्यसपछि प्रजिअ पाण्डेयले परिवारका सदस्यसंग भएको सल्लाह अनुसार आफै एक डेढ घण्टा गाडी र दुई घण्टा उकालो बाटा हिडेर ताङ्गिन गाउँ पुगेर सो नागरिकता प्रदान गरेका हुन । एक जना मात्र सेवाग्राही भएपनि जेष्ठ नागरिक त्यस माथि अपाङ्ग भएको कारण यसरी घर मै पुगेर सेवा प्रदान गरिएको उहाँले बताउनुभयो ।
प्रजिअ पाण्डेय सेवा दिन गएका थिए । तामाङको समस्या देखेर नै नागरिकता यसरी स्थलगत रुपमा पुगेर बितरण गर्न रोकिएको भएपनि उनले यस्तो प्रयास गरेका हुन । अब नागरिकता पाएपछि तामाङलाई रोकिएको जेष्ठ नागरिक भत्ता खाना पनि पाउने छन । दुई वर्ष अगाडी गाउँपालिकाले सवै खाले सामाजिक सुरक्षा भत्ता बैंङक खाता मार्फत भुक्तानी गर्न सुरु गरे पनि तामाङको नागरिकता नभएको कारण उहाँले सो भत्ता लिन पाएका थिएनन ।
उनको नाममा रहेको जग्गा पनि परिवारका अन्य सदस्यको नाममा लिन रोकिएको अब सो समेत बाटो खुलेको छ । यसअघि उत्तरी नाम्खा गाउँपालिकालाई लक्षित गरेर प्रजि पाण्डेले घुम्ती शिबिर सञ्चालन गरेर चार सय भन्दा बढी सिमा पास बितरण गर्नु भएको थियो भने जिल्ला प्रशासन कार्यालयको समन्वयमा सरकारी कार्यालयहरुको सार्वजनिक सुनुवाई कार्यक्रम पनि सुरु गर्नु भएको छ ।






















