
सि.टा. समाचारदाता
सिमकोट । हुम्ला जिल्लाको मनसुन, आगलागी तथा चट्याङ सम्वन्धि प्रतिकार्य आपतकालीन कार्य योजना तयार भएको छ । जिल्ला प्रशासन कार्यालयले सरोकारवाला पक्षको समन्वयमा तयार पारेको उक्त कार्ययोजना जिल्ला बिपद ब्यवस्थपन समितिको वैठकले अन्तिम रुप दिदै त्यसलाई पारित गरेपछि उक्त योजना कार्यान्वयनका लािग तयार भएको हो ।
यसवर्षको बिपद सम्वन्धि प्रतिकार्य आपतकालीन कार्ययोजना तयार भएको सहायक प्रमुख जिल्ला अधिकरी राजेन्द्र चन्दले बताए । जसमा मनसुन, आगालागी तथा चट्याङको छुट्टा छुट्टै रुपमा कार्ययोजना तयार पारिएको छ । उक्त कार्ययोजनालाई जिल्ला विपद ब्यवस्थापन समितिको बैठकले सुझाव सहित पारित गरेपछि यो कार्यान्वयनमा समेत आएको छ ।
प्रतिकार्य आपतकालीन कार्ययोजनामा गरिने कृयाक्लाप, मुख्य जिम्मेवार निकाय, सहयोगी निकाय, समय सिमा, उपलव्धी र सुचकलाई समेटिएको छ । बैठकले जिल्लाका सात वटै गाउँपलिकालाई पनि यो कार्ययोजना तयार पार्न र त्यसलाई कार्यान्वयन ल्याउन आग्रह समेत गरेको छ ।
प्रतिकार्य योजना कार्यान्वयनमा आई सकेको कारण जिम्मेवार निकायहरु तयारी अवस्थामा बस्नु पर्ने प्रमुख जिल्ल अधिकारी नारायण पाण्डेयले बैठकमा बताए । कार्ययोजना अनुसार सरोकारवाला निकायहरु तयारी अवस्थामा रहे कुनै पनि विपदजन्य घटना भए त्यसलाई खोज, उद्धार, राहात र पूनस्थापना गर्न कठिनाई नहुने उहाँले बताउनुभयो ।
आगालागी सधै हुन सक्ने, पुर्वमनसुन सुरु भई सकेको कारण मनसुन सम्वन्धि प्रति कार्य योजना तयार पारेर कार्यान्वयनमा ल्याउन आवश्यक देखिएको बेला यो तयार भई कार्यान्वयनमा आएको प्रहरी नायव उपरिक्षक शंकर पोखरेलले बताए । प्रतिकार्य योजना तयार भई कार्यान्वयनमा समेत आएको अवस्थामा सुरक्षा निकायहरु आफ्नो जिम्मेवारी अनुसार तयारी अवस्थामा रहने छ ।
प्रतिकार्य योजनाले स्थानीय प्रशासन, सुरक्षा निकाय, डिभिजन बन कार्यालय, भौतिक पुर्वाधार कार्यालय, खानेपानी जलश्रोत तथा उर्जा बिकास कार्यालय, सञ्चार माध्यम, नेपाल रेडक्रम सोसाईटी लगाएतका निकायहरुलाई जिम्मेवार र सहयोगी निकायका रुपमा जिम्मेवारी तोकिएको छ ।
अघिल्ला वर्षहरुमा यो कार्ययोजना साउन महिनामा मात्र तयार हुने गरेकोमा यसवर्ष भने जेठकाे पहिलो हप्ता भित्रै तयार भएर कार्यान्वयनमा ल्याईएको छ ।














