पहिरो गएको तील गाउँमा यसरी लगियो औषधी र खोप सामाग्री

फोटो क्याप्सन काठेपुल पहिरोले बगाएपछि तील खोलामा औषधी तथा खोप सामग्री खोलामा पार गरिदै । तस्बिर ः सौजन्य सागर लामा

सि.टा. समाचारदाता
सिमकोट । गत जेठ १ गते राती पहिरो गएको नाम्खा गाउँपालिका–६ को हिमालपारीको लिमीको तील गाउँमा बल्लतल्ल गरि औषधी र खोप सामाग्री पुर्याएर उपचार गरिएको छ । उक्त गाउँ प्रवेश गर्ने खोला तर्ने काठेपुल पहिरोले बगाएपछि सो गाउ पुगेर उपचार गर्नका लागि गएका स्वास्थ्यकर्मीहरुले जसोतसो खोला पार गरेर औषधी लग्नु परि रहेको हो ।

नाम्खा गाउँँपालिका स्वास्थ्य शाखाका प्रमुख सागर लामाले तील खोलामा काठे पुल पहिरोले बगाएको कारण तील गाउँवासीको स्वास्थ्य चेकजाँच गर्न गएको टोली आफ्नै जुक्ति लगाएर औषधी तथा खोप सामाग्री पार गराउन सफल भएको बताए ।

उपचार गर्न तील गाउँ जानेक्रममा पुल नभएको तील खोलामा एक जना वारीपट्टी र अर्को जना अर्कोपट्टी बसेर औषधीलाई खोला पार गराउन सफल भएको होे । यसरी स्वास्थ्यकर्मीहरुले औषधीलाई खोला पार गर्न लगाएर तील गाउँँ पुर्याउनु भएका थियो । तील पुगेपछि दुई जना बालबालिकालाई खोप लगाउने कार्य भएको थियो भने अन्य सवै गाउँवासीको स्वास्थ्य परिक्षण गरिएको थियो ।

त्यसैगरि स्वास्थ्य सम्वन्धि मनोपरामर्स पनि स्थानीयवासीसंग गरिएको थियो । महामारीजन्य रोग नियन्त्रण तथा रोकथामको कार्य पनि गरिएको थियो । स्थानीयसंग स्वच्छ खानेपानी, खानेकुरा, सरसफाई तथा मानसिक डर त्रास सम्वन्धि स्वास्थ्य शिक्षा प्रदन गरिएको थियो । त्यसैगरि स्वास्थ्यकर्मीहरुको टोलीले पोषण लेखाजोखा गर्ने कार्य पनि भएको थियो ।