सि.टा समाचारदाता
सिमकोट । सिमकोट हिल्सा खण्डको हालको सडकको बिकल्पका रुपमा निर्माण कार्य सुरु भएको तुम्कोट रङ्गीफुङ हुदै कोङगुम्वाबाट हिल्साम्मको सडकको निर्माण कार्य रोकिएको छ । कडा चट्टानी क्षेत्रमा सडक निर्माण गर्नुपर्ने र तर हालसम्म बिष्फोटक पदार्थको ब्यवस्था हुन नसकेको कारण काम अगाडी बढ्न नसकेको हो ।
एक महिनादेखि तुम्कोट रङ्गीफुङ हुदै कोङगुम्वाबाट हिल्सासम्मको सडकको निर्माण कार्य रोकिएको निर्माण कम्पनी साङ्गे निर्माण सेवाका प्रतिनिधि गोविन्द लामाले बताए । आर्थिक वर्षको अन्त्यतिर आएपनि बिष्फोटक पदार्थको ब्यवस्था हुन नसक्दा काम रोक्नु र विनीयोजित बजेट फिर्ता पठाउनुको बिकल्प निर्माण कम्पनीसंग नभएको हो ।
बिष्फोटक पदार्थको सिफारिसका लागि जिल्ला सुरक्षा समितिका संयोजक प्रमुख जिल्ला अधिकारी नारायण पाण्डेयको टोली सडक निर्माणस्थलमा एक महिना अगाडी पुगेर बिष्फोटक पदार्थ आवश्यक पर्ने सिफारिस गरेको थियो । सो बिष्फोटक पदार्थका लागि गृहमन्त्रालयबाट सिफारिस भई सकेको र अहिले नेपाली सेनामा पुगेर रोकिएको छ ।
बल्ल हुम्लाबाट बिष्फोटक पदार्थको फाईल हुम्लाबाट जुम्ला गएको र जुम्लाबाट सुर्खेत हुँदै काठमाडौं पुगेपछि अनुमति आउने जानकारी आएकोले काम गर्न कठिन भएको होे । चार हजार ६७० मिटर उचाईको नारा लेकको सडकको वैकल्पिक मार्गको रुपमा यो सडकको निर्माण कार्य सुरु गरिएको हो । कडा चट्टानी क्षेत्र भएको कारण विष्फोटका लागि चार सय वटा होल खोप्ने कार्य भएको भएपनि हालसम्म विष्फोटक पदार्थको ब्यवस्था हुन नसक्दा निर्माण कार्य रोकिएको हो ।
चीनको सिमाना जोड्ने सिमकोट हिल्सा सडकलाई बाह्रै महिना सञ्चालनमा ल्याउन र दुरी समेत छोटो पार्न नाम्खा गाउँपालिका– ५ को तुम्कोटबाट हिल्सासम्म वैकल्पिक मार्ग निर्माण गर्न लागिएको हो । २०८२ साल बैशाख ८ गते यो सडकको निर्माणका लागि नाम्खा गाउँपालिकाले निर्माण कम्पनीसं सम्झौता गरेको थियो । यसका लागि यो आर्थिक वर्षमा असी लाख बजेटको ब्यवस्था गरिएको छ ।
अर्कोतर्फ लिमीको तीलको तैजुङबाट हिल्सातर्फ पनि सडक निर्माण हिल्सा सिमकोट सडक योजनाले निर्माण सुरु गरेको छ । यो सडक निर्माणलाई अब वर्षेनी निरन्तरता योजनाले जनाएको छ । योजनाले यो वर्ष दुई करोड पन्द लाख लागतमा सडकको निर्माण सुरु गरेको छ ।
नारा लेकमा हिमपात जम्ने भएको कारण पाँँचदेखि छ महिना सडक हिउँदे याममा बन्द हुने गर्छ । हिल्सा सिमकोट सडक योजनाले वर्षेनी हिउँ फाल्नका लागि बजेट खर्च गर्दै आएको छ । त्यसैगरि हिमपहिरोको कारण सडक पनि भत्किदै आएको छ । यसलाई वर्षेनी मर्मत गर्नु परि रहेको छ ।
हाल निर्माण सुरु भएको सडकको उचाई तीन हजार १५० मिटर उचाई रहेको छ । यो खण्डको सडक निर्माण भए सधै हिउँ नजम्ने र बाह्र महिना सडक सुचारु हुने नाम्खा गाउपालिकाका अध्यक्ष प्रेमबहादुर लामाले बताउनुभयो । अर्काे कुरा तुम्कोट नारा हिल्सा सडक ३७ किलो मिटर लम्बाई रहेको छ भने यता तुम्कोट रङ्गीफुबाट हिल्सासम्म जम्मा २७ किलो मिटर लम्बाई रहेको छ । यस हिसावले साढे दश किलो मिटर सडक पनि छोटो हुनेछ ।
























