तयार भयो खार्पुमा बेलिब्रीज

फोटो क्याप्सन खार्पुको दोजाम कर्णाली नदीमा निर्माण कार्य पुरा भएको बेलिब्रीज । तस्बिर ः सि.टा.

सि.टा. समाचारदाता
सिमकोट । कर्णाली करिडोरको हुम्ला खण्डमा पर्ने खार्पुनाथ गाउँपालिका– ५ को खार्पुको दोजाम कर्णाली नदीमा बेलिब्रीज तयार भएको छ । नेपाली सेनाले सो बेलिब्रीजको निर्माण कार्य पुरा गरेको हुँदा यसको उद्घाटनको पर्खाई गरिएको हो
डेढ महिना अगाडी खार्पुको दोजाम कर्णाली नदीमा निर्माण कार्य सुरु भएको बेलिब्रीज तयार भएको नेपाली सेनाका बोक्चे गौडादेखि याङ्चु कुना बिकास निर्माण दलका प्रमुख अम्रित पराजुलीले बताए ।

बेलिब्रीज पुर्ण रुपमा तयार भएको र यसलाई औपचारिक रुपमा उद्घाटनको पर्खाईमा रहेको र त्यसपछि भने हुम्लाको सदरमुकाम सिमकोटलाई राष्ट्रिय सडक सञ्जालसंग जाोड्ने कार्य हुने उनले बताए । यो बेलिब्रीजको उद्घाटन प्रधानमन्त्रीबाट गराउने तयारी गरिएको भएपनि यसको औपचारिक जानकारी नआएको प्रमुख जिल्ला अधिकारी नारायण पाण्डेयले बताए ।

प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो सामाजिक सञ्जालमा लेख्दै केही दिन अगाडी अब हुम्लाको सदरमुकाम सिमकोट सडक सञ्जालसंग जोडिने दिन टाढा छैन भनेका थिए । सेनाले सो बेलिब्रीजको स्टिल पार्टको जडान कार्य पुरा गरेर एप्रोज वाल समेत तयारी गरि सकेको छ । पुलको पश्चिमतर्फ ग्याविन वाल लगाउने कार्य समेत भई सकेको छ ।

जडान कार्यमा सेनाका प्राविधिकहरु आफै खटिनु भएको थियाो । बेलिब्रीज ५२ मिटर लम्बाई रहेको छ । गतवर्ष असारमा खार्पुसम्म सडक सञ्जाल जोडिएको थियो । दोजाम कर्णाली नदीमा पुल नभएको कारण सदरमुकाम सिमकोट राष्ट्रिय सडक सञ्जालसंग औपचारिक रुपमा जोडिन पाएको थिएन । त्यही कारण हुम्लावासीले तत्काल सदरमुकाम सिमकोटलाई राष्ट्रिय सडक सञ्जालसंग जोड्नका लागि दोजाम कर्णाली नदीमा बेलिब्रीज निर्माणका लागि माग गरेका थिए ।

गत पुसमा सरकारले मन्त्री परिषद बैठकबाट निर्णय गरेर सो बेलिब्रीजको निर्माण कार्यको जिम्मा नेपाली सेनालाई दिएको थियो । बेलिब्रीजको निर्माण कार्य सम्पन्न भई सञ्चालनमा आए लगत्तै अब सदरमुका सिमकोटबाट सिधै सुर्खेत, नेपालगंज र काठमाडौंसम्म सिधै गाडीमा यात्रा गर्न सकिनेछ ।

अब एक मात्र सडक सञ्जाल नजोडिएको सदरमुकाम सिमकोट भन्ने भनाईको पनि अन्त्य हुनेछ । यसबाट सदरमुकाम सिमकोट यसै महिनाभित्र राष्ट्रिय सडक सञ्जलंसंग जोडिने भएको हो । सेनाले पनि सो बेलिब्रीज असार मसान्तसम्म सम्पन्न गर्ने गरि काम गर्ने जिम्मेवारी पाएको थियो ।