सि.टा. समाचारदाता
सिमकोट । बिरामीको सङ्ख्य बढी रहेको समयमा अस्पतालमा औषधीको पनि अभाव हुँदै गएको छ । अस्पतालका लागि औषधीको ब्यवस्था गर्न न्यून बजेटको ब्यवस्था भएकै कारण अभाव देखिएको हो ।
अस्पतामा भर्ना हुनु भएका ५९ वर्षका सर्केगार्ड गाउँपालिका– ८ का बिरामी भुवन रोकायाले अस्पतालमा औषधी पाउनै छोडेको बताए । चिकीत्सकले चेकजाँच गर्ने र पुर्जामा लेखिएको औषधी माग्दा सकिएको भन्ने स्वास्थ्यकर्मीबाट जवाफ आउने गरेको गुनासो उनको छ ।
अस्पतालमा मात्र नभएर सुलभ किसिमले उपलब्ध गर्नका लागि स्थापना गरिएको अस्पताल कै फर्मेसीमा पनि यो औषधी सकिएको वा नभएको भन्ने जवाफ आउने भएको कारण नीजि फार्मेसी र मेडिकलमा महङ्गो औषधी किनेर प्रयोग गर्न बिरामी बाध्य भएका छन ।
जिल्ला अस्पताल भएर पनि वर्षमा पन्द्र लाखको औषाधीले ब्यवस्था गर्न परेपछि औषधीको अभाव हुनु स्वभाविकै भएको अस्पतालका चिकित्सक रविन्द्र भट्टराईले बताए । अस्पतालसंग भएको सिमित साधन र श्रोतबाट बिरामीको उपचार गर्नुपर्ने बाध्यता रहेको बताउदै उनले बिरामीलाई चेकजाँच गरि सकेपछि आौषधी खरिद गर्न बिरामीका
आफन्तलाई बाहिर नीजि मेडिकल र फार्मेसीमा पठाउनुको बिकल्प भएको बताए । अर्को कुरा अस्पतालबाट ९८ प्रकारका औषधी निशुल्क उपलब्ध नियम भएपनि त्यो सङ्ख्या हालसम्म साठी प्रकार भन्दा कहिल्यै माथि नपुगेको उनको भनाई छ । औषधी अभाव भएको र बिरामीलाई चेकजाँचपछि अधिकाँस औषधी बाहिरबाट ब्यवस्था गर्नु पर्ने बाध्यता रहेको अस्पतालकी बरिष्ठ अनमी सरिता बोहराले बताईन ।
























