सि.टा समचारदाता
सिमकोट । प्रधानमन्त्री केपी शर्मा ओलीले कर्णाली करिडोरको हुम्ला खण्डको खार्पुनाथ गाउँपालिका– ५ को खार्पुको दोजाम कर्णाली नदी माथिको नवनिर्मित बेलिब्रीजको उद्घाटन गरेका छन ।

आईतबार एक बिशेष कार्यक्रमका बिच भएको कार्यक्रममा प्रधानमन्त्री ओली बेलिब्रीजको उद्घाटन गरेका हुन ।
सधै पछाडी परेको र पारिएको उपमा पाउदै आएको हुम्ला जिल्ला आजबाट देशका सबै भागसंग सडक सञ्जालसंग जोडिनु ऐतिहाँसिक कार्य भएको बताए ।
हुम्लावासीको माग बर्तमान सरकारले पुरा गरेको र यसका लागि निर्धारित समयमा काम गरेर आजको यो अवस्थामा ल्याएको नेपाली सेनालाई उनले धन्यवाद दिए । कर्णालीसंग अब उत्तरदक्षिण अन्तरदेशीस सडक सञ्जाल जोडिनु अर्को सुखद पक्ष भएको प्रधानमन्त्री ओलीले बताए ।
बेलिब्रीजको उद्घाटन पछि कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले आफु विशेष उत्साह लिएर खार्पुनाथमा आई पुगेको बताउदै कर्णाली अब उत्तर र दक्षिण अन्तरप्रदेशीय सडक सञ्जालसंग जोडिनु गर्वको विषय भएको बताए ।
हुम्ला राष्ट्रिय राजमार्गमा आज औपचारिक रूपमा जोडियो, हामी सबै नेपालीका लागि यो एक गर्वको क्षण भएको प्रधानमन्त्री ओलीले वताए । कर्णाली करिडोर जोडिएपछि आफ्नो हुम्लासम्मको यात्राले आफुलाई भावनात्मक र उत्साहित बनाएको उनको भनाई छ ।
आजको दिन नेपालका लागि नै ऐतिहाँसिक बनेको र यसको इतिहाँस आफ्नै हुने उनको भनाई छ । उनले आजबाट सञ्चालनमा आएको कर्णाली करिडोर हुम्ला खण्डको चुवाँखोला बेलिब्रिजले हाम्रो दक्षिणी छिमेकी मित्रराष्ट्र भारत र उत्तरी छिमेकी मित्रराष्ट्र चीनलाई सडक मार्गले जोड्ने काम गरेको बताए ।
यो राजमार्ग बाँकेस्थित सीमावर्ती क्षेत्र जमुनाह नाकाबाट प्रारम्भ भएर हुम्लास्थित चीनको सीमावर्ती क्षेत्र हिल्सामा टुंगिन्छ । ४१० किलोमीटर यस सडकले कर्णालीलाई उत्तर र दक्षिण अन्तरदेशीय सडक सञ्जालमा जोड्ने कार्य गरेको उनले बताए । अब यसले सडक सञ्जालमा जोडिन बाँकी एकमात्र जिल्ला हुम्लालाई राष्ट्रिय राजमार्गमा पनि जोडेको उनको भनाई थियो । देश निर्माणको यात्रामा आजको दिन एक कोसेढुंगा सावित हुने बिस्वास उनले ब्यक्त गरे ।
यसअघि प्रधानमन्त्री ओलीले खार्पु आई पुगे लगत्तै नयाँ निर्माण भएको बेलिब्रीजको उद्घाटन गरेका थिए । पुलको उद्घाटन पछि सदरमुकाम सिमकोट औपचारिक रुपमा राष्ट्रिय सडक सञ्जालसँग जोडिएको छ । खार्पुको दोजाम कर्णाली नदीमा नेपाली सेनामार्फत बेलिब्रीज निर्माण भएपछि सिमकोट सडक सञ्जालमा जोडिएको हो ।
प्रधानमन्त्री ओलीसँगै भौतिक पूर्वधार मन्त्री देवेन्द्र दाहाल, रक्षा मन्त्री मानविर राई, कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेल, पुर्वमन्त्री एक एमाले उपमहासचिव प्रदिप ज्ञवाली, प्रधानमन्त्री पत्नी राधिका शाक्य, प्रधान सेनापति असोकराज सिग्देल, भौतिक पुर्बाधार एवं यातयात मन्त्रालयका सचिव केशब कुमार शर्मा आएका थिए ।
कामको जिम्मा पाएको नेपाली सेनाले गत असार दश गते बेलिव्रीज निर्माण कार्य सम्पन्न गरेको थियो । उद्घाटनका लागि प्रधानमन्त्री आउने कार्यक्रम भएको कारण केही ढिलाई भएको थियो । छोटो समयमै नेपाली सेनाले काम सम्पन्न गर्दा हुम्लावासीले खुसी व्यक्त गरेका छन् । हुम्लालाई सडकसँग जोड्नका लागि नेपाली सेनाको चौध बाइनी निर्माण टोली चैत १० गते हुम्ला पुगेको थियो ।
























