सिमकोट बिमानस्थलमा सात वटा जहाज र पाँच वटा हेलिकोप्टरले उडान भर्दै

फोटो क्याप्सन सिमकोट बिमानस्थलमा जहाज र हेलिकोप्टर । तस्बिर ः सि.टा

सि.टा. समाचारदाता
हुम्ला । हिमाली जिल्ला हुम्लाको सिमकोट बिमानस्थलमा यतिबेला सात वटा जहाज र पाँच वटा हेलिकोप्टर उडान भर्ने गरेका छन । भारतीय धार्मिक पर्यटकहरु हिल्साबाट मानसरोवर कैलाशको दर्शन गर्न आउन सुरु भएसंगै जहाज र हेलिकोप्टरको उडन बाक्लिएको हो ।

यतिबेला सिमकोट बिमान स्थलमा दैनिक उनानचास उडानसम्म हुने गरेका छन । नेपालगंजबाट सिमकोटका लागि जहाजले र सिमकोटबाट हिल्साका लागि हेलिकोप्टरले उडान गर्ने गरेका छन । पछिल्लो समय दैनिक उनानचास उडानसम्म हुने गरेको नेपाल नागरिक उड्डयान प्राधिकरण सिमकोटका प्रमुख मेहन्द्र सिंहले बताए ।

कोरोना पछिको यो सबै भन्दा बढी उडान भई रहेको छ । चीनले हिल्सा नाका भएर भारतीय धार्मिक पर्यटकहरुलाई मानसरोवर कैलाश दर्शन गर्नका लागि खुल्ला गरेपछि हुम्लामा जहाज र हेलिकोप्टरको उडान सङ्ख्या बढ्दै गएको हो । नेपालगंजबाट सिमकोटसम्म यी पर्यटकहरुलाई सात वटा जहाजले ओसार्ने गरि रहेका छन ।

जसमा समिटका तीन वटा, सीता र ताराका दुई दुई वटा जहाजहरुले उडान भरि रहेका छन । मौसमले साथ दिए यी जहाजहरुले दैनिक सातदेखि चौध वटासम्म उडान नेपालगंजबाट सिमकोटका लागि भर्दै आएका छन । त्यसैगरि सिमकोट बिमानस्थलबाट हिल्सासम्म भारतीय धार्मिक पर्यटक ओसार्नका लागि पाँच वटा हेलिकोप्टहरु सिमकोट बिमानस्थल मै नाईट स्टे गर्दै आएका छन ।

यी हेलिकोप्टरहरुले दैनिक बीसदेखि ३५ उडानसम्म सिमकोटबाट हिल्साका लागि भर्ने गरेका छन् । हेलिकोप्टरले मौसम सफा भए बिहान साँढे छ बजेबाट नै उडान भर्न सुरु गर्ने गर्छन् । प बिहान जहाजको उडान हुने समयमा सिमकोट बिमानस्थलमा एयर ट्राफिकको समस्या भोग्नु परि रहेको छ । यो अवधिमा कहिले जहाज त कहिले हेलिकोेप्टरले आकाशमा होल्ड गर्नु परि रहेको देखिन्छ ।

२०७२ सालको भुकम्प पछिको झल्को यतिबेला उडान भएको हेर्दा २०७२ सालको भुकम्पपछिको झल्को आउने गरेको छ । पर्यटन ब्यवसायी मिमबहादुर तामाङका अनुसार हिल्सा नाकाबाट मानसरोवर कैलाशको दर्शन गर्ने भारतीय धार्मिक पर्यटकहरुको संख्या ९३२ जना पुगेको छ ।

बैशाख, जेठ र असार तीन महिना गरि भारतीय पर्यटकहरुले मानसरोवर कैलाशको दर्शन गरेका हुन । यो क्रम अहिले पनि जारी रहेको छ । यी मध्य बैशाख महिनामा दुई जना, जेठमा चार जना र असार महिनामा ९२६ जना भारतीय पर्यटकहरु सिमकोट भएर हिल्साबाट मानसरोवर कैलाशको दर्शन गर्न आई पुगेको उहाँले बताउनुभयो ।

हालसम्म आएका भारतीय पर्यटकहरुमा ४३२ जना महिला र पाँच सय जना पुरुष रहनु भएको छ । यो क्रम जारी रहने छ । यस वर्ष रसुवाको केरुङ नाका र हुम्लाको हिल्सा नाका गरि बीस हजार भारतीय धार्मिक पर्यटकहरुले मानसरोवर कैलाशको दर्शन गर्ने पर्यटन ब्यवसायी लामाले बताउदै अब रसुवा नाका बाढीको कारण बन्द भएकोले यसको चाप हिल्सा नाका पर्ने छ ।