कर्णाली नदीमा पानीको बहाब बढ्दा नदी किनारका बस्ती जोखिममा

फोटो क्याप्सन सर्केगार्ड बजारमा नदी किनारका बस्तीहरु नजिक आई पुगेको नदीको पानीको बहाब । तस्बिर ः सि.टा.

सि.टा. समाचारदाता
सिमकोट । कर्णाली नदीको किसारका बस्तीहरु उच्च जोखिममा देखिएका छन । लगातार बर्षा भई रहेको कारण कर्णाली नदीमा पानीको बहाब बढेपछि छेउछाउका बस्ती जोखिममा देखिएका हुन । सर्केगार्ड गाउँपालिका– ४ मा पर्ने गाउँपालिकाको केन्द्र सर्केगार्ड बजारका नदी किनारका बस्ती नै जोखिममा देखिएको स्थानीय देबकी मल्लले बताईन ।

आफ्नो घरको सात मिटर परसम्म पानीको बहाब बढेर आएको बताउदै निक्कै जोखिम देखिएको उनले बताईन । धेरै बर्षा भएको समयमा निद्रा पनि नलाग्ने बताउदै उनले यस वर्ष अन्य वर्षको तुलनामा नदीको बहाब बढेको जानकारी गरिन । गतवर्ष नदीको बहाब बढ्दै गएको भन्दै स्थानीयको माग अनुसार प्रदेश सरकारबाट नदी किनारमा तटबन्धन निर्माण गरिएको भएपनि पानीको सतह उक्त तटबन्धनसम्म पुगेको छ ।

यसले गर्दा दश वटा घरहरु निक्कै जोखिममा रहेका छन । त्यसैगरि खार्पुनाथ गाउँपालिका– ४ को नल्लतर्फको खार्पु बजार पनि जोखिममा रहेको स्थानीय रत्नबहादुर शाहीले बताए । उक्त स्थानमा पन्द्र वटा बस्ती बस्तै आएका छन । याङ्चु प्रहरी चौकी समेत उक्त स्थानमा रहेको छ । सो क्षेत्रमा पनि वस्तीलाई सुरक्षित राख्न नदी किनारमा तटबन्धन गरिएको भएपनि नदीको बहाब बढेर तटबन्धन भन्दा माथि आई पुगेको छ ।

त्यसैगरि सर्केगार्ड गाउँपालिका– ४ कै न्यासीका दुई वटा साना होटेल पनि नदीको पानीको बहाबको चपेटामा पर्ने देखिएको छ । नदीमा पानीको बहाब दैनिक बृद्धि भई रहेको कारण त्यसबाट उच्च सतर्कता अपनाउन स्थानीय प्रशासन आग्रह गरेको छ । बर्षा दैनिक भई रहेको कारण यसबाट सजग र सचेत रहन प्रशासनले सर्वसाधारण र पैदल यात्रुहरुलाई अनुरोध गरेको हो ।