सि.टा. समाचारदाता
हुम्ला । स्वास्थ्य चौकीका औषधी अभाव हुँदा बिरामीहरु सेवाबाट बन्चित हुनु परेको छ । सिमकोट गाउँपालिकाका विभिन्न वडाहरुमा सञ्चालन हुँदै आएका स्वास्थ्य संस्थाहरुमा औषधीको अभाव भएपछि सेवा लिन आएका बिरामी सेवा बिनै फिर्ता हुनु परेको हो ।
सिमकोट गाउँपालिका–२ की चालीस वर्षकी बाँचुल्ली बोहराले परिवार नियोजनको अस्थायी साधन ढिपो लगाउने उद्धेश्यले स्वास्थ्य चौकी जाँदा ढिपो सकिएको जानकारी पाएपछि सेवा विनै फिर्ता हुनु परेको बताईन । उनले आफु जस्तै चार जना महिलाहरु स्वास्थ्य चौकीमा ढिपो नभएपछि खाली हात फर्कनु परेको बताईन ।
उक्त स्वास्थ्य चौकीका प्रमुख दानबहादुर बोहराले आईब्रोफिन, आँखा दुख्ने, सिप्रो, जिब्रोजेल र चिलाउने रोगको औषधी नभएको कारण उपचारका लागि आउने बिरामीलाई उपचार बिनै फिर्ता पठाउनु पर्ने बाध्यता रहेको गुनासो गरे । हरेक महिना हुनु पर्ने स्वास्थ्य चौकीमा हुनु पर्ने गर्भजाँच कार्य पनि साउन महिना यता हुन सकेको छैन ।
यता सिमकोट गाउँपालिका–६ की ६५ वर्षकी देबकी रोकायाले गाउँको आधारभूत स्वास्थ्य सेवा केन्द्रमा उपचारका लागि जाँदा औषधी नपाएर फिर्ता हुनु परेको बताईन । उक्त स्वास्थ्य केन्द्रमा पनि दिर्घ रोगीका बिरामीका लागि रक्तचाप, प्रेशर, दम लगाएतका अभाव भएको छ ।
सो केन्द्रका प्रमुख राजु रावतले औषधीको अभाव भएको स्वीकार गर्दै त्यसको जानकारी गाउँपालिकामा गरिए पनि समस्या समधान हुन नसकेको बताए । सिमकोट गाउँपालिकामा बाह्र वटा स्वास्थ्य संस्थाहरु रहेका छन । ती मध्य अधिकाँसमा औषधी अभाव देखिएका छ ।
औषधी अभाव भएको स्वीकार गर्दै सिमकोट गाउँपालिका स्वास्थ्य शाखाका प्रमुख नरबहादुर भण्डारीले खरिद योजना तयारी, प्रशासकीय अधिकृतको ब्यवस्था नहुँदा औषाधीको अभाव भएको बताए ।
पहिलेबाटै भण्डारणमा भएको औषधीबाट हालसम्म काम चली रहेको बताउदै उहाँले बल्ल अहिले आएर औषधी खरिद प्रकृयाा अगाडी बढेको जानकारी दिए ।















