सि.टा. समाचारदाता
सिमकोट । हिमाली जिल्ला हुम्लाका दशदेखि चौध वर्ष उमेर समुहका किशोरीहरुलाई पाठेघरको मुखको क्यान्सर ( एचपिभि ) बिरुद्धको खोप चैत १५ गते भित्र लगाईने भएको छ । हिउदे बिदाको कारण विद्यालयमा पठनपाठन बन्द भएको कारण यसअघि देशभर राष्ट्रिय अभियान भएको सयममा नलगाईएको कारण यतिबेला सो खोप लगाउन लागिएको हो ।
सो खोप वारे जानकारी दिनका लागि जिल्ला स्तरीय अभिमुखीकरण कार्यक्रम आयोजना गरेर चैत १५ गते भित्र जिल्लाका सात वटै गाउँपालिका यो खोप लगाउने कार्य गर्ने निर्णय भएको स्वास्थ्य सेवा कार्यालयका प्रमुख चिकीत्सक उमाकान्त तिवारीले बताए । यसका लागि कक्षा छ मा अध्ययनरत ६८६ जना दशदेखि चौध वर्ष उमेर समुहका किशोरीहरुलाई खोप लगाउने कार्य हुनेछ ।
यसका कोही किशोरी विद्यालय बाहिर रहेका छन भने पनि समेटिएने छ । सो खोप लगाउने उक्त उमेर समुहका किशोरीहरु गाउँपालिका अनुसार खार्पुनाथमा ९५ जना, चङ्खेलीमा ७२ जना, सर्केगार्डमा १२७ जना, नाम्खा गाउँपालिकामा २७ जना, ताँजाकोटमा ९५ जना, सिमकोट गाउँपालिकामा १६५ जना र अदानचुली गाउँपालिका १०५ जना रहनु भएको छ । यता नाम्खा गाउँपालिका– ६ को हिमालपारीको गाउँ लिमीका खोप केन्द्रमा भने यो उमेर समुहका किशोरीहरु रहेका छैनन ।



















