सि.टा समाचारदाता
हुम्ला — हिमाली जिल्ला हुम्लामा ट्याक्टर दुर्घटनाको खबर आएको छ । सिमकोट गाउँपालिका–६ स्थित हुमाने खोला नजिक शुक्रबार भएको दुर्घटनामा चालक गम्भीर घाइते भएका छन्।
प्रहरीका अनुसार सिमकोटतर्फ आउँदै गरेको ग १ त ७०६८ नम्बरको ट्याक्टर अचानक अनियन्त्रित भई सडकबाट करिब १५० मिटर तल भीरमा खसेको हो । दुर्घटना स्थल अत्यन्तै जोखिमयुक्त र भिरालो भू–भागमा पर्ने भएकाले कठिनाईका बाब्जुत पनि उद्धार गरि घाईतेलाई सुरक्षित अस्पताल पुर्याईएको प्रहरीले जनाएको छ ।
दुर्घटनामा सिमकोट गाउँपालिका–६ कै २५ वर्षीय चालक नरेन्द्र सुनार गम्भीर घाइते भएका छन्। स्थानीयवासी र प्रहरीको सहयोगमा घाइतेलाई तत्काल उद्धार गरी जिल्ला अस्पताल हुम्ला पुर्याइएको छ।
जिल्ला प्रहरी कार्यालय हुम्लाका निमित्त प्रमुख एवम् सुचना अधिकारी युबराज ढकालका अनुसार घाइते सुनारको अवस्था गम्भीर रहेको छ र उनको जिल्ला अस्पताल हुम्ला उपचार भइरहेको बताएका छन ।
प्रारम्भिक अनुमान अनुसार ट्याक्टर अनियन्त्रित हुनुमा सडकको जोखिमपूर्ण अवस्था, सम्भावित ब्रेक फेल वा चालकको नियन्त्रण गुम्नु दुर्घटनाको कारण हुन सक्ने बताइएको छ। यद्यपि दुर्घटनाको यकिन कारणबारे प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ ।
हिमाली जिल्लामा कच्ची तथा साँघुरा सडक, तीव्र मोड र कमजोर यातायात पूर्वाधारका कारण यस्ता दुर्घटना दोहोरिँदै आएका छन्। स्थानीयले सडक सुरक्षा सुधार गर्न र सवारी साधनको नियमित जाँचमा कडाइ गर्न सम्बन्धित निकायसँग माग गरेका छन् ।
























