सि.टा. समाचारदाता
हुम्ला । सदरमुकाम समेत रहेको सिमकोट गाउँपालिकाको केन्द्र सिमकोट बजारको फोहोर उठाउने दिन थपिएको छ । पर्यटकीय सिजन सुरु भएकोले बजार क्षेत्रमा फोहोरको मात्रा बढ्दै जाँदा बढी दुर्गन्धित हुन थालेपछि सो फोहोर उठाउने दिन थपिएको हो ।
जेठ ५ गते मंङ्गलवारबाट सिमकोट बजारको फोहोर उठाउन एक दिन थप गरिएको सिमकोट गाउँपालिकाका लेआ अधिकृत बिशाल बोहराले बताए ।
यसअघि हप्तामा एक दिन मात्र फोहोर उठाउने कार्य हुँदै आएको थियो । मानसरोवर कैलाशको यात्रा गर्ने पर्यटकीय सिजन समेत सुरु भई सकेकोले अब हप्तामा दुई दिन वजारको फोहोर उठाउने कार्य सुरु गरिएको हो ।
अब हरेक हप्ताको मंङ्गलबार र शुक्रबार सिमकोट बजारको फोहोर उठाएर ट्याक्टरले डम्पिङ साईटसम्म लग्ने कार्य गर्नेछ । बजारलाई सफा र स्वच्छ राख्नका लागि यो उपायमा गाउँपालिका लागेको हो । हाल ट्याक्टरले सिमकोट बजारको तल्लो क्षेत्र अस्पतालबाट बिजय होटेल हुँदै तीनधारासम्मको फोहोर उठाउने काम हुँदै आएको छ ।
यी दुई दिनमा जति फोहोर जम्मा भएपनि ट्याक्टरले उठाएर सफा गर्ने कार्य गर्नेछ । यसका लागि गाउँपालिकाले बार्षिक पाँच लाख वजेट खर्च गर्दै आएको छ । गाउँपालिकाले यसरी फोहोर उठाउने कार्य गर्न सुरु गरेपछि सिमकोट बजारको स्वरुप पनि वदलिएको छ ।




















