सि.टा. समाचारदाता
सिमकोट । सिमकोट बिमानस्थलमा मंङ्गलबार एक्कै दिनमा १७० वटा सटल उडानहरु भएका छन । पर्यटकीय सिजन सुरु भएसंगै पर्यटकहरु आउने क्रम बढ्दा जहाज र हेलिकोप्टरले यी सटल उडानहरु भरेका हुन ।
नेपालगंजबाट सिमकोटका लागि हवाई जहाजहरुले २९ वटा उडान भएको र हेलिकोप्टरहरुले सिमकोटबाट हिल्साका लागि ५६ वटा उडान भर्दा मंङ्गलबार मात्र ८५ वटा उडान भएको सिमकोट बिमानस्थल प्रमुख महेन्द्र बहादुर सिंहले बताए । यसमा प्राविधिक भाषमा हवाई जहाजले ५८ र हेलिकोप्टरले ११२ सटल गरि जम्म १७० सटक उडान भरेका हुन ।
गत बैशाख ३० गतेबाट मानसरोवर कैलाशको दर्शनका लागि भारतीय धार्मिक पर्यटकहरु हुम्लाको सदरमुकाम सिमकोट भएर आउन सुरु भएको थियो । पर्यटकहरु भित्रिन थालेको यो तीन हप्ताको अवधीमा सवै भन्दा बढी उडान भएको मंङ्गलबार भएको उहाँले बताउनुभयो ।

यसका लागि सीता, तारा र समिट एयरका छ वटा जहाजहरुले उडान भर्ने गरेका छन् भने छ वटा हेलिकोप्टर कम्पनीका हेलिकोप्टरले सिमकोटबाट हिल्साका लागि उडान भर्ने गरेका छन । यो अवधिमा एक हजार ४७८ जना पर्यटकहरु हुम्लामा भित्रिनु भएको छ । सिमकोट बिमानस्थल बजार हाल भारतीय पर्यटकमय देखिन थालेको छ ।
























