
सि.टा. समाचारदाता
सिमकोट । नेपाली सेनाको बिकास निर्माण कार्य दलले कर्णाली करिडोर अन्र्तगत कालीकोट जिल्लाको खुलालुदेखि हुम्ला जिल्लाको सलीसल्ला सडक खण्डको घाटा चौरदेखि भुक्का खोलाको चट्टानी भीरको सडकको ट्रयाक खोल्ने कार्यलाई तिब्रता दिएको छ ।
हाल सो क्षेत्रको ट्रयाक खोलेर यतिबेला सञ्चालनमा आई रहेको सडकको लम्बाई बढी, उकालो भएको भन्दै सडक बिभागको सिफारिसमा घाटा चौरदेखि भुक्का खोलाको चट्टानी भीरमा सडक निर्माण गर्न कार्य नेपाल सरकारले नेपाली सेनालाई जिम्मा लगाए अनुसार निर्माण कार्य भई रहेको हो ।
घाटा चौरदेखि बद्री गाउँ हुँदै भुक्का खोलासम्म कुल एघार दशमलव सुन्ने पाँच किलो मिटर सडक मध्य हालसम्म आठ किलो मिटर सडकको ट्रया खोल्ने कार्य पुरा भएको नेपाली सेनाको कर्णाली करिडोर सडक निर्माण कार्यदल राताडाँडाका प्रमुख प्राविधिक सेनानी सुक प्रसाद थकालीले बताए । यति काम हुँदा सरकारले कुल सेनालाई जिम्मा लगाएको काम मध्य हालसम्म त्रिहत्तर दशमलव एकानब्बे प्रतिशत निर्माण कार्य पुरा भएको छ ।
सरकारले आर्थिक वर्ष ०७८।०७९ मा उक्त चट्टानी भीरमा सडक निर्माण गर्ने जिम्मा नेपाली सेनालाई दिएको थियो । सोही सयममा सरकारले सडक सञ्जाल नजोडिको हुम्ला जिल्लाको दुल्ली कुलादेखि लालीवगर क्षेत्रको एघार किलो मिटर सडकको निर्माण गर्ने जिम्मा पनि सेनालाई नै लगाएको थियो ।
दुवै क्षेत्रको सडकको निर्माण गर्ने जिम्मा सेनालाई दिएको भएपनि त्यतिबेला हुम्लाको सदरमुकाम सिमकोट राष्ट्रिय सडक सञ्जालसंग नजोडिएको कारण घाटा चौरदेखि भुक्का खोला सडकको कामले तिब्रता पाएको थिएन ।
गत आर्थिक वर्षमा कर्णाली करिडोरको हुम्ला खण्डको सडकको निर्माण कार्य सम्पन्न भएपछि त्यसयता सेनाले सो क्षेत्रको सडक निर्माण कार्यलाई तिब्रता दिन थालेको थियो । यस आवमा पाँच सय मिटर सडक निर्माण गर्ने लक्ष्य अनुसार घाटा चौरतर्फबाट सो सडकको निर्माण गर्ने कार्य पुरा भई सकेको छ ।
हालसम्म निर्माण गरिएको आठ किलो मिटर सडकमा साठीदेखि सत्तती प्रतिशत चट्टानी भीरलाई विष्फोट गरेर सडकको ट्रयाक खोल्ने कार्य गरिएको छ । उक्त सडकको चौढाई औसत पाँचदेखि छ मिटर रहेको छ ।
आगामी आर्थिक वर्षमा उक्त सडकको बाँकी तीन दशमलव सुन्ने पाँच किलो मिटर सडक निर्माण कार्य गर्नका लागि सडक बिभाग हुँदै सरकारसंग बजेट समेत माग गरिएको छ । अव निर्माण गर्नुपर्ने सडक पनि अधिकाँस चट्टानी भीर क्षेत्र पर्ने भएको कारण विष्फोट गर्नु पर्नेछ ।

बाँकी कामका लागि माग अनुसार सरकारले वजेटको ब्यवस्था गरे आगामी आर्थिक वर्ष सो सडकको निर्माण कार्य सम्पन्न गर्ने उनले बताए । हाल यसअघि घाटा चौरबाट भुक्का खोलासम्म निर्माण गरिएको सडक उकालो र ओरालो झर्नु पर्ने भएको र लामो पनि रहेको छ । हाल निर्माण कार्य भई रहेको सडकको काम पुरा भए एक घण्टा समय छोटिने सेनाले जनाएको छ । यो सडक कर्णाली नदी किनारमा पर्छ ।























