
सि. टा . समाचारदाता
सिमकोट । दुर्गम हिमाली जिल्ला हुम्लामा आगलागी, बाढीपहिरो लगायत विभिन्न विपद्का घटनाबाट प्रभावित नागरिकका लागि गुडनेवर्स इन्टरनेसनल र किर्डाक नेपाल यतिबेला भरोसाको सहारा(आश्रय) बन्दै आएका छन्।
सिमकोट गाउँपालिका–७ चौगानफयाँका आगलागी पीडित महेन्द्रबहादुर शाहीको घरमा जेठ २१ गते बिहीबार राति आगलागी हुँदा परिवार नै विचल्लीमा परेको थियो।
उक्त घटनापछि राहत तथा सहयोगको आवश्यकता देखिएको अवस्थामा जेठ २८ गते गुडनेवर्स इन्टरनेसनल र किर्डाक नेपालले पीडित परिवारलाई राहत सामग्री तथा आर्थिक सहयोग उपलब्ध गराएका छन्।
आगलागीबाट महेन्द्रबहादुर शाहीको घर पूर्ण रूपमा जलेर ध्वस्त भएको थियो। घरभित्र रहेका सम्पूर्ण धनमाल नष्ट भएपछि परिवारलाई दैनिक गाँस, बास र कपासको समस्या उत्पन्न भएको थियो।
बिहान–बेलुकाको छाक टार्नसमेत कठिन अवस्था सिर्जना भएको बेला एक औपचारिक कार्यक्रमका बीच भाँडाकुँडा लगायत खाद्यान्न तथा अत्यावश्यक सामग्री सहयोग गरिएको गुडनेवर्स इन्टरनेसनलका प्रमुख गोविन्द चौधरीले जानकारी दिनुभयो।
तत्कालीन समस्या समाधानका लागि वितरण गरिएको राहत सामग्रीमा दुई बोरा २५ केजीका मसिनो चामल, तीन जोर जुत्ता, दुई सेट लुगा, छ प्याकेट खाने तेल, तीनवटा कम्बल, तीनवटा तन्ना, तीनवटा डस्ना, दुईवटा जग, आठवटा स्टिलका कचौरा, दुईवटा डेक्ची, आठवटा स्टिलका कप, दश–दश लिटर क्षमताका दुईवटा ग्यालेन, नुहाउने तथा लुगा धुने साबुन १५–१५ वटा, पाँचवटा टुथपेस्ट, आठवटा ब्रस तथा स्टेशनरी सामग्रीहरू रहेका छन्। यी सबै सामग्रीको कुल मूल्य करिब २५ हजार रुपैयाँभन्दा बढी रहेको प्रमुख चौधरीले बताउनुभयो।

सहयोग प्राप्त गरेपछि आगलागी पीडित महेन्द्रबहादुर शाहीले आफ्नो परिवारको नाजुक अवस्थामा साथ र सहयोग प्रदान गरेकोमा गुडनेवर्स इन्टरनेसनल र किर्डाक नेपालप्रति हृदयदेखि आभार व्यक्त गर्नुभयो। विपत्तिको कठिन समयमा प्राप्त सहयोगले परिवारलाई ठूलो राहत मिलेको उहाँको भनाइ छ। आगलागी बाट शाहीकाे करिब २१ लाख बराबरकाे धनमाल क्षेति भएकाे प्रहरीकाे मुचुल्कामा उल्लेख गरिएकाे छ ।
दुर्गम हिमाली जिल्ला हुम्लामा आगलागी, बाढीपहिरो तथा अन्य प्राकृतिक विपद्का घटनामा गुडनेवर्स इन्टरनेसनल र किर्डाक नेपालले निरन्तर सहयोग गर्दै आएका छन्।
विपद्का बेला पीडितहरूको दुःखमा साथ दिने संस्थाका रूपमा यी संस्थाले स्थानीयस्तरमा विश्वास र भरोसा जित्दै आएका छन्।
पीडा र संकटका घडीमा सहयोगी हात बढाउने उदाहरणीय संस्थाका रूपमा गुडनेवर्स इन्टरनेसनल र किर्डाक नेपाल हुम्लावासीमाझ परिचित बन्दै गएका छन्।























