सिमकोट । पछिल्लो समय विद्यार्थीहरूको जीवनमा विभिन्न प्रकारका अनैतिक क्रियाकलाप तथा अमानवीय घटनाहरू बढ्दै गइरहेका बेला यस्ता घटनाबाट कसरी सचेत रहने भन्ने उद्देश्यले सञ्चालन गरिएको विद्यार्थीहरूको जीवन उपयोगी सीप तथा आत्मसुरक्षा सम्बन्धी तीनदिने तालिम सम्पन्न भएको छ।
गुडनेवर्स इन्टरनेसनल नेपालको आर्थिक तथा प्राविधिक सहयोग तथा किर्डाक नेपालको आयोजनामा सञ्चालन गरिएको उक्त तालिम जेठ २७ गतेबाट सञ्चालन भएर जेठ २९ गते शुक्रबार मानसरोवर हाेटेलमा सम्पन्न भएको हो।
तालिममा जिल्लाका मानसरोवर माध्यमिक विद्यालय र बाल मन्दिर माध्यमिक विद्यालय का जम्मा ३० जना विद्यार्थीहरूको सहभागिता रहेको थियो। सहभागी विद्यार्थीहरूलाई जीवन उपयोगी सीप तथा आत्मसुरक्षासम्बन्धी विभिन्न विषयमा प्रशिक्षण प्रदान गरिएको गुडनेवर्स इन्टरनेसनल नेपालका कार्यक्रम अधिकृत गोविन्द चौधरीले जानकारी दिनुभयो।
उक्त तालिममा विद्यार्थीहरूलाई जीवन उपयोगी सीप तथा आत्मसुरक्षा भनेको के हो, यसको आवश्यकता किन छ, जीवनमा यी सीपहरू कसरी प्रयोग गर्न सकिन्छ लगायतका विषयमा छलफल तथा सहजीकरण गरिएको थियो।
तालिममा विद्यार्थीहरूलाई सैद्धान्तिक तथा व्यावहारिक ज्ञान प्रदान गरिएको भन्दै किर्डाक नेपालका कार्यालय प्रमुख जनक बुढाले जनचेतनामूलक तथा व्यवहारिक अभ्यासमार्फत प्रशिक्षण दिइएको जानकारी दिनुभयो।
विद्यालय तहबाटै विद्यार्थीहरूले जीवनमा उपयोगी हुने सीपहरू सिकून्, आत्मसुरक्षाका उपायहरूबारे जानून् र सुरक्षित जीवनशैली अपनाउन सकून् भन्ने उद्देश्यले तालिम सञ्चालन गरिएको किर्डाक नेपालका संयोजक जनक बुढाले बताउनुभयो।
तालिमका क्रममा विद्यार्थीहरूलाई जस्तोसुकै परिस्थितिमा पनि आफ्नो सुरक्षा कसरी गर्ने भन्ने विषयमा जिल्ला प्रहरी कार्यालय हुम्ला का प्रतिनिधिहरूले प्रत्यक्ष अभ्यासमार्फत प्रशिक्षण दिएका थिए।
तीनदिने तालिमबाट सहभागी विद्यार्थीहरूले तनाव व्यवस्थापन, आलोचनात्मक सोच तथा निर्णय क्षमता विकास, सहानुभूति र अनुभूतिको विकास, संवेग नियन्त्रण गर्ने क्षमता तथा सिर्जनात्मक सोचाइ सम्बन्धी व्यावहारिक ज्ञान हासिल गरेका छन्।
दैनिक जीवनमा आइपर्ने चुनौतीपूर्ण तथा तनावपूर्ण अवस्थाको सामना धैर्यतापूर्वक कसरी गर्ने, परिस्थितिको सही विश्लेषण गरी उचित निर्णय कसरी लिने, अरूको भावना र पीडालाई बुझ्ने मानवीय गुणको विकास कसरी गर्ने तथा रिस, डर र चिन्ताजस्ता संवेगहरूलाई नियन्त्रण गरी सन्तुलित जीवन कसरी जिउने भन्ने विषयमा सहभागीहरूलाई प्रशिक्षण प्रदान गरिएको थियो। साथै समस्या तथा चुनौतीहरूलाई नयाँ, फरक र रचनात्मक दृष्टिकोणबाट हेर्ने सीपसमेत सिकाइएको थियो।
सहभागी विद्यार्थीहरूले उक्त तालिम केवल सैद्धान्तिक ज्ञानमा सीमित नभई आफ्नो सोच, बुझाइ र व्यवहारमा सकारात्मक परिवर्तन ल्याउन महत्वपूर्ण भूमिका खेलेको बताएका छन्।
तालिममा सिकाइएका विषयहरूले आफ्नो सोचको दायरा फराकिलो बनाएको उल्लेख गर्दै उनीहरूले प्रशिक्षक तथा आयोजकप्रति आभार व्यक्त गरेका थिए।

विद्यार्थीहरूले तालिमबाट सिकेका ज्ञान, सीप र अनुभवलाई दैनिक जीवनमा व्यवहारिक रूपमा लागू गर्ने प्रतिबद्धता व्यक्त गर्दै यस्ता जीवन उपयोगी तथा रूपान्तरणकारी कार्यक्रमहरूको निरन्तरता हुनुपर्ने अपेक्षा समेत राखेका छन्। साथै कार्यक्रम आयोजना गरेकोमा आयोजक संस्था तथा प्रशिक्षक टोलीलाई हृदयदेखि धन्यवाद ज्ञापन गरेका थिए।
























