मानसरोवर कैलाश दर्शनका लागि आउने पर्यटक सङ्ख्या ३६ दिनमा एकचालीस सय कटे

फोटो क्याप्सन : सिमकोट बिमानस्थलमा आई पुगेका भारतीय धार्मिक पर्यटक हिल्सा प्रस्थान गर्ने तयारीमा ।

सि.टा. समाचारदाता
सिमकोट ।       यस पटक हालसम्म हिमाली जिल्ला हुम्लाको सदरमुकाम सिमकोट बिमानस्थल भएर हिल्सा हुँदै मानसरोवर कैलाशको यात्रा गर्ने भारतीय पर्यटकहरु चार हजार एक सय भन्दा बढी रहनु भएको छ ।

यस वर्षको मानसरोवर कैलाशको दर्शन गर्ने कार्य सुरु भएपछि भारतीय धार्मिक पर्यटकहरु हवाई मार्गबाट आउन थालेपछि यो संङ्ख्या बढ्दै गएको हो  ।

बुधबारसम्म् चार हजार १०९ जना भारतीय पर्यटकहरु नेपालगंजबाट सिमकोटदेखि हिल्सा भएर चीनको ताक्लाकोटतर्फ मानसरोवर कैलाशको दर्शन गर्न लागेको प्रहरी निरीक्षक बिष्णु श्रेष्ठले बताए ।

यसवर्ष गत बैशाख ३० गतेबाट भारतीय पर्यटकहरु मानसरोवर कैलाशको दर्शनका लागि जिल्लामा आउन सुरु भएको थियो । यो पर्यटक आगमन संङ्ख्या ३६ दिनको हो । हालसम्म हुम्ला आई पुग्नु भएका भारतीय पर्यटकहरुमा दुई हजार ४६ जना महिला र दुई हजार ६३ जना पुरुष रहेका छन् ।

सिजन सुरु भएसंगै दैनिक असी देखि दुई सय जनासम्म भारतीय पर्यटकहरु हवाई मार्गबाट हुम्ला आएको पर्यटन ब्यवसायी रन्जिन लामाले बताए । यसले गर्दा होटेल बिजय, कैलाश, मानसरोवर, कर्णाली रिसोर्ट, हुम्ला रिसोर्ट, होटेल पोतला, होटेल एलिस लगाएतका होटेलमा पर्यटकहरु भरि भराउ हुने गरेका छन् ।

यसवाट होटेल ब्यवसायीको आम्दानी पनि राम्रो हुन थालेको छ । त्यसैगरि सिमकोट बिमानस्थलबाट होटेलसम्म पर्यटकका झोलाहरु बोक्ने कार्यमा तीस भन्दा बढी भरियाहरुले पनि काम पाएका छन् । अर्को कुरा सिमकोटका किसानहरुको तरकारीले पनि बजार पाउन सहज भएको छ ।

धेरै पर्यटकहरुको आगमन हुने भएपछि हाल नीजि एयरलाईन्सहरु ताराको एउटा, सीताका दुई वटा र समिट एयरका तीन वटा गरि छ वटा जहाजहरुले बिहान सात वजेबाट बेलुका अवेरसम्म् नेपालगंजबाट सिमकोटका लागि उडान भर्न सुरु गर्दे आएका छन । त्यसैगरि छ वटा कम्पनीका छ वटा हेलिकोप्टरले सिमकोट बिमानस्थलबाट हिल्सा उडान भर्ने कार्य गर्दै आएका छन ।

हेलिकोप्टर बिहान साँढे छ वजेबाट बेलुका सात वजेसम्म उडान भर्ने कार्य गरि रहेका छन् । यस्तो पर्यटकहरुको चहल पहल सिमकोटमा मात्र नभएर दुई देशको सिमा क्षेत्र हिल्सामा पनि हुने गरेको छ । यसले गर्दा हिल्साका होटेल ब्यवसायी र भरियाहरुको पनि कमाई राम्रो हुने गरेको उहाँको भनाई छ ।

मानसरोवर कैलाशको दर्शन गर्ने समय सुरु भएपछि भारतीय पर्यटकहरु आउने क्रम निक्कै बढेको कारण सिमकोट बिमानस्थल बिहानवाट बेलुकासम्म निक्कै चहल पहल हुन थालेको छ ।