अब नेपाल टेलिकममा प्रिपेड ग्राहकका लागि स्वतः नवीकरण हुने प्याकेज

सि.टा. समाचारदाता
सिमकोट ।      नेपाल टेलिकमले प्रिपेड मोबाइल प्रयोगकर्ताका लागि मासिक रूपमा स्वतः नवीकरण हुने ’सब्स्क्रिप्सनमा आधारित प्रिपेड प्याकेज’ सञ्चालनमा ल्याएको छ। टेलिकमले जारी गरेको विज्ञप्ति अनुसार यस व्यवस्था अन्तर्गत सेवाग्राहीले हरेक महिना पुनः प्याकेज सक्रिय (सब्स्क्राइब) गरिरहनुपर्ने झन्झट रहने छैन।

सो सेवा एकपटक सक्रिय गरिसकेपछि अर्को पटकदेखि ग्राहकको मोबाइलमा उपलब्ध ब्यालेन्स रकमका आधारमा प्रत्येक महिना उक्त प्याकेज स्वतः नवीकरण हुने कम्पनीले जनाएको हो ।

कम्पनीले यसका लागि ३० दिन समयावधिका तीन प्रकारका प्याकेज उपलब्ध गराएको छ । जस अन्तर्गत २९९ रुपियाँमा ’नमस्ते रिकरिङ २९९’ प्याक उपलब्ध हुनेछ, जसमा ३०० मिनेट अल–नेट भ्वाइस, ४ जिबी डेटा र राति ११ बजेदेखि बिहान ६ बजेसम्म प्रयोग गर्न मिल्ने २ जिबी नाइट डेटा तथा २० वटा अन–नेट एसएमएस उपलब्ध हुनेछन्।

त्यसैगरी, ४९९ रुपियाँमा ’नमस्ते रिकरिङ ४९९’ प्याक उपलब्ध हुने छ। यसमा ५०० मिनेट अल–नेट भ्वाइस, ८ जिबी डेटा र राति ११ बजेदेखि बिहान ६ बजेसम्म प्रयोग गर्न मिल्ने ४ जिबी नाइट डाटा तथा १०० वटा अल–नेट एसएमएस प्राप्त गर्न सकिने छ।

सबैभन्दा ठुलो प्याकेजका रूपमा ७९९ रुपियाँमा ’नमस्ते रिकरिङ ७९९’ उपलब्ध गराइएको छ । यसमा सबै नेटवर्कमा असीमित रूपमा कल गर्न सकिने सुविधा (अल–नेट भ्वाइस), प्रतिदिन १० जिबी अर्थात् मासिक ३०० जिबी डेटा र ३०० वटा अल–नेट एसएमएस उपलब्ध हुने टेलिकमका प्रवक्ता डा. कमल लामिछानेले जानकारी दिनुभएको छ ।

उक्त सब्स्क्रिप्सनमा आधारित प्याकेज लिने ग्राहकलाई आवश्यकता अनुसार एड–अन प्याकेज समेत उपलब्ध गराइने विज्ञप्तिमा उल्लेख छ । सो प्याकेज अन्तर्गत ३० रुपियाँमा १ दिनका लागि १ जिबी, ५० रुपियाँमा ३ दिनका लागि २ जिबी र ९९
रुपियाँमा ७ दिनका लागि ४ जिबी डाटा उपलब्ध हुनेछ। सेवाग्राहीले आफ्नो मोबाइलबाट ८१४१५३ डायल गरी प्राप्त निर्देशन अनुसार यो प्याकेज खरिद गर्न सक्ने कम्पनीले जनाएको छ।