सि.टा. समाचारदाता
सिमकोट । प्रतिनिधि सभाका सदस्य हर्क साम्पाङ हुम्ला आई पुगेका छन् । उनी सुर्खेतबाट पैदन मार्ग हुँदै हुम्लाको अदानचुली गाउँपालिकामा आई पुगेका हुन ।
स्थानीयसंग जनसंख्याको न्यायोचित र समान बितरण हुनु पर्ने उनले बताएका छन् । हिमाली जिल्ला हुम्लाको दक्षिणी क्षेत्रमा आई पुगेका सासद साम्पाङले ग्रामीण क्षेत्रमा मानिसको वसोवास धेरै कम देखिएको बताउदै सो कुरा बताएका हुन ।
हुम्ला जस्ता दुर्गम क्षेत्रमा जनसंख्या धेरै कम हुनुको कारण सरकारले उपलव्ध गराउने सेवा र सुविधाको कारणले भएको उनले बताए । नागरिकहरुलाई अहिलेको समय अनुसारका सेवा र सुविधाहरु सवैतिर उपलब्ध गराउन सके मानिसहरु जता पनि वस्ने उनले बताए ।
सेवाहरु सवै शहर केन्द्रीत गरेको कारण ग्रामीण क्षेत्रमा मानिसको वसोवास कम भएको उनको भनाई छ । सुर्खेतबाट दुई दिनमा हुम्लाको अदानचुली गाउँपालिकामा पुगेका उनी सर्केगार्ड गाउँपालिका– २ को खडीखेतसम्म आउने कार्यक्रम रहेको छ ।
मिडिया र सामाजिक सञ्जालमा खडीखेतमा कर्णाली नदी माथि तुईनमा मानिस तर्नु बाध्य भएको कुरा बाहिर आएपछि उनले सो स्थानमा झोलुङ्गे पुल निर्माण गर्ने प्रतिबद्धता जनाएका थिए ।
त्यसैका लागि उनी हुम्ला आई पुगेका हुन । बुधबार सासद साम्पाङ खडीखेतमा आई पुग्नेछन् । तर सो स्थानमा झोलुङ्गे पुल कादुरी भन्ने गैरसरकारी संस्थाले निर्माण गर्ने भई सकेको छ । उनी श्रम सँस्कृति पार्टीका अध्यक्ष समेत रहेका छन् ।








