सि.टा. समाचारदाता
सिमकोट । जिल्ला अस्पतालमा बिशेषज्ञ चिकीत्सक नहुँदा बिरामीको उपचारमा समस्या भएको छ । अर्को बिशेषज्ञ चिकीत्सकको ब्यवस्था नगरि भएको बिशेषज्ञ चिकीत्सकको सरुवा गरिदा अस्पतालमा उक्त सेवा प्रभावित भएको हो ।
बिशेषज्ञ चिकीत्सक भएको भए जिल्ला मै सुत्केरी गर्न सकिने गर्भवती महिलालाई सुर्खेत पठाउनु परेको थियो । यसअघि अस्पतालमा त्यस्तै बेथा लागेकी गर्भवती आए अस्पताल मै सुत्केरी गराउन सकिन्थ्यो । तर बिशेषज्ञ चिकीत्सक नभएको कारण जिल्ला बाहिर रिफर गर्नु परेको हो । यो एउटा मात्र नभएर अस्पतालमा बिशेषज्ञ चिकीत्सक नभएको कारण अन्य बिरामीहरुलाई पनि जिल्ला बाहिर रिफर गरिएको घटनाहरु पनि छन् ।
डेढ महिनादेखि जिल्ला अस्पताल हुम्लामा बिशेषज्ञ चिकीत्सक नहुँदा बिरामीहरु मर्कामा परेको अस्पतालकी बरिष्ठ अनमी सरिता बोहराले बताईन । बिशेषज्ञ चिकीत्कसको अभावले गर्दा परिवार नियोजन, प्रसुती सेवा, जटिल किसिमका अन्य केशहरु आए रिफरको बिकल्प अस्पतालसंग नभएको उनले बताईन ।
दुई जना बिशेषज्ञ चिकित्सकको दरवन्दी भएपनि दुवै दरवन्दी पुरा कहिल्यै नभएको बताउदै उनले एक जना भएको जनशक्ति पनि सरुवा भएपछि जिल्ला अस्पताल बिशेषज्ञ चिकीत्सक बिहीन अवस्थामा रहेको बताईन ।
प्रदेशबाट अस्पतालका लागि एक जना बिशेषज्ञ चिकीत्सकको ब्यवस्था नगरि भएको जनशक्ति सरुवा गरिदा दुर्गमको अस्पतालका बिरामीहरुले सास्ती खेप्नु परेको उनको भनाई छ ।
बिशेषज्ञ जनशक्ति भएको भए जिल्ला अस्पताल मै उपचार गर्न सकिने सात जना बिरामीहरुलाई सो जनशक्ति नभए कै कारण जिल्ला बाहिर रिफर गरिएको उहाँको भनाई छ । उपलब्ध हुनु पर्ने बिशेषज्ञ सेवा हाल नभएको कारण बिरामीहरु मर्कामा परि रहेको अस्पतालले जनाएको छ ।
दरवन्दी अनुसार बिशेषज्ञ सेवाका लागि जनशक्तिको ब्यवस्था गर्न प्रदेश सरकारसंग माग गरिएको भएपनि त्यो पुरा हुन सकेको छैन ।
सात जना चिकीत्सक जिल्ला अस्पतालमा हुनु पर्ने भएपनि हाल तीन जना चिकीत्सकहरुले सेवा प्रदान गर्दै आएका छन । निमित्त कार्यालय प्रमुख सहित अन्य एक जना चिकीत्सक दसैं मनाउन घर गएको भएपनि फिर्ता भएका छैनन् ।








